सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेबाट ब्याज असूलिने र बैंक पनि कारबाहीमा पर्ने


काठमाण्डौ, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेबाट ब्याज असूल गरिने र त्यस्तो कार्यमा सहभागी बैंकलाई पनि कारबाही हुने चेतावनी दिएका छन् ।

मौद्रिक नीतिको विषयमा थप प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो चेतावनी दिएका हुन् ।

उनले राष्ट्रबैंककै केही सुपरीवेक्षणबाट सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको देखिएको उल्लेख गर्दै त्यस विषयमा स्वतन्त्र परीक्षकलाई यथार्थ पत्ता लगाउने गरी जिम्मा दिइएको बताए ।

स्वतन्त्र परीक्षकहरुले सहुलियतपूर्ण कर्जा सदुपयोग भएको वा नभएको भन्ने विषयमा काम गरिरहेका र उनीहरुले साउन मसान्तसम्म त्यसको प्रतिवेदन दिने उल्लखे गर्दै उनले थपे–‘त्यसपछि सहुलियतपूर्ण कर्जाको दुरुपयोगको विषयमा उठेका प्रश्नहरुको निश्कर्ष पाउँछौं ।

दुरुपयोग भएको भए ब्याज समेत असूली भएर राज्यकोषमा जान्छ । सम्बन्धित बैंक पनि कारबाहीमा पर्छ । सदुपयोग भएको भए त राम्रै भइगो ।’

यसैबीच, उनले केही दिनअघि अर्थसमितिमा ५० ठूला ऋणिहरुको नाम सार्वजनिक गर्न भनी सांसदहरुले चुनौति दिएको विषयमा पत्रकारहरुले उठाएका जिज्ञासालाई पनि सम्बोधनको प्रयास गरेका थिए ।

सो क्रममा ऋण धेरै लिनु नै अपराध नभएको प्रष्ट पार्दै भने–‘ऋण धेरै उपयोग गर्ने अपराधी होइन । उनीहरुले नै रोजगारी दिने हो, उत्पादन बढाउने हो ।

यदि लिएको ऋण दुरुपयोग भएको भए मात्र समस्या हो । ऋणि ठूलो हुँदैमा छानबिनमा पर्नुपर्छ भन्ने पनि होइन ।

यस्ता विषयमा केन्द्रीय बैंकले हिजो पनि मनिटरिंग गरिरहेकै थियो, आज पनि गरिरहेकै छ र भोलि पनि गर्छ ।’

 


प्रकाशित मिति : २०८० श्रावण ७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार