आगामी तीन दिन भारी वर्षा नहुने, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौ, बुधबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा तल रहेको छ । जसकारण तीन दिन भारी वर्षाको सम्भावना कम रहेको उनले बताए ।

‘मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरेको छ । त्यसको असरस्वरूप पानी कम पर्ने देखिन्छ,’ लामिछानेले भने ।

हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मिति : २०८० श्रावण ३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार