काठमाण्डौ, सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज २५.३१ अंकले बढेको छ।
योसँगै नेप्से परिसूचक २०९७.५५ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया ३.२८ अंकले ३९२.१५ को विन्दूमा पुगेको छ।
हिजोको तुलनामा कारोबार रकम पनि बढेर ३ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार अजयसिंह थापा ९जयशम्भु० आजको बढाइले बजारमा करेक्सन लगभग पूरा भएको मान्न सकिने बताउँछन्। ‘बजार फेरि अप ट्रेन्डतिर मुभ हुने देखिन्छ’, उनले भने।
प्राविधिक रुपमा बजार २२०० माथि गएमा ट्रिपल बटम भ्यालिड हुने र बजारले बुल यात्रा तय गर्ने थापा बताउँछन्।
‘आज बजारमा सेक्टर रोटेसन भएको पनि देखिन्छ’, उनले भने, ‘विस्तारै बैंकिङ सेक्टर पनि चल्नेछ।’अबको केही वर्ष बुल मार्केट चल्ने थापाको भनाइ छ।
अर्का बजार जानकार उपेन्द्र पाठक आज बजार बढ्नुलाई असार मसान्तको प्रभाव सकिएको भनेर मान्न सकिने बताउँछन्।
‘बैंकिङ प्रणालीमा ४५० अर्ब रुपैयाँ तरलता रहेकोले ब्याजदर घट्ने लगभग निश्चित छ’, उनले भने, ‘साउन लागेसँगै बजारमा पैसा पनि आउन सक्छ।’
बजारमा सेक्टर परिवर्तन पनि भइरहेको पाठक बताउँछन्। ‘बजारमा विकास बैंकहरुको हकप्रद आउने चर्चा चल्दै गर्दा सेक्टर पनि परिवर्तन हुन थालेको हो’, उनले भने।
साउन–भदौ सिजन भएकोले बजार २३०० भन्दा माथि नै जाने पाठकको भनाइ छ। आज नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ४.४१ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह १.८७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७३ प्रतिशत, विकास बैंक समूहमा ०.७९ प्रतिशत, लगानी समूहमा ०.५५ प्रतिशत, जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९५ प्रतिशत, अन्य समूहमा १.०४ प्रतिशत र व्यापार समूहमा ०.३४ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह १.९५ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.८७ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ३३ करोड ९३ लाख रुपैयाँ बढी कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको आज सोल्टी होटेलको ९ करोड १४ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ५४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ९७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ करोड ७० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड १९ लाख रुपैयाँ, नेपाल फाइनान्सको ५ करोड १० लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४ करोड ९२ लाख रुपैयाँ र फर्स्ट माइक्रोफाइनान्सको ४ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन ६ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। शिवश्री हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावरको सेयरभाउमा १० प्रतिशत तथा शुभम पावर, नेसनल हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
अरुण काबेली पावरको सेयरभाउमा ९ प्रतिशत बढीले उकालो लागेको छ। आज रावा इनर्जीका सेयरधनीहरुले सर्वाधिक गुमाए।
यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।