काठमाडौ, समयमै पानी नपर्दा यो वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार असार सकिन लाग्दा अहिलेसम्म २७ प्रतिशत मात्र धान रोपाइँ भएको हो ।
यो वर्ष सरकारले १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । तर, २१ असारसम्म देशभर कुल ३ लाख ६२ हजार ६२५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।
जुन २७ प्रतिशत मात्रै हो । गत वर्ष यस अवधिमा ४० प्रतिशतभन्दा धेरै क्षेत्रफलमा रोपाइँ भइसकेको थियो ।
गत वर्षको हिसाबले यस वर्ष १३ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देशभरको धान रोपाइँको विवरण संकलन गर्ने कृषि विभागअन्तर्गतको बालीविकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।
विशेषगरी मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन ढिलो हुँदा धान रोपाइँ प्रभावित भएको हो ।
मनसुनमा भएको ढिलाइ कारण यो वर्ष रोपाइँ केही ढिलो भएको मन्त्रालयका सह–सचिव प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए ।
तर, रोपाइँका लागि पर्याप्त समय भएको र मनसुन पनि सक्रिय रहेका कारण किसान आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
खडेरीका कारण बिउ राख्न केही ढिलाइ भएकाले पनि किसानले बिस्तारै धान रोपाइँ गरिरहेका छन् ।
मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा पनि किसान रोपाइँ तयारीमा जुटेका कारण केही दिनमा रोपाइँ विवरणमा वृद्धि हुने मन्त्रालयको अनुमान छ ।
कोशी प्रदेशमा ३६ प्रतिशत रोपाइँ
पूर्वी नेपालको कोशी प्रदेशमा हालसम्म ३६।६७ प्रतिशत धान रोपाइँ भएको छ । यो वर्ष यस प्रदेशमा २ लाख ७५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारको अनुमान छ ।
तर, हालसम्म १ लाख हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको मन्त्रालयको तथ्याङ्क छ । गत वर्ष २१ असारसम्म कोशीमा ३१.९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो। ।
मधेश प्रदेशमा ९ प्रतिशत मात्र
अन्नको भण्डार मानिने मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । २१ असार हुँदासम्म बल्ल मधेस प्रदेशमा करिब ९ दशमलव ५३ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको छ ।
समयमा वर्षा नहुँदा यो प्रदेशको ९० प्रतिशत खेत अझै बाँझो रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा ३३ हजार ७७३ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।
प्रदेशमा ३ लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । जबकी गत वर्ष २१ असारसम्म ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।
लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसान अझै आकासे पानीको प्रतीक्षामा छन् ।
बागमतीमा ३० प्रतिशत धान रोपाइँ
बागमती प्रदेशमा हालसम्म ३०.७८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । यो वर्ष प्रदेशमा १ लाख १३ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ ।
तर, २१ असारसम्ममा ३०.७८ प्रतिशत मात्र धान रोपाइँ भएको हो । गत वर्ष ४२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।
गण्डकीमा १७ प्रतिशत
मन्त्रालयको विवरणअनुसार गण्डकी प्रदेशमा १७.५५ प्रतिशत अर्थात् १८ हजार ३६१ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।
मन्त्रालयले यस वर्ष प्रदेशमा १ लाख ४ हजार ६२२ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष यस प्रदेशमा ६२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।
लुम्बिनीमा २४ प्रतिशत रोपाइँ
लुम्बिनी प्रदेशमा हालसम्म २४.४३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन ७३ हजार ३८६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
मन्त्रालयले यस वर्ष लुम्बिनीमा ३ लाख हेक्टरमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष यस अवधिमा ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।
कर्णालीमा ४५ प्रतिशत रोपाइँ
कणीली प्रदेशमा हालसम्म ४५.०२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । मन्त्रालयका अनुसार यो वर्ष ३८ हजार ७२७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेको छ ।
तर, हालसम्म १७ हजार ४३५ हेक्टरमा रोपाइँ सकिसकेको छ । गत वर्ष यस ५६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।
सुदूरपश्चिममा ४८ प्रतिशत रोपाइँ
सुदूरपश्चिम प्रदेशमा हालसम्म ४८.९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । सुदूरपश्चिममा यो वर्ष १ लाख ७१ हजार ४७६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ ।
८३ हजार ९७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको सुदूरपश्चिमको बाँकी भू–भागमा पनि रोपाइँ जारी छ । गत वर्ष यस प्रदेशमा ७२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।