प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगाडि विवादित अभिव्यक्ति दिने र पछि सच्याउने नेतामध्ये पर्छन् । फेरि पनि एकपटक यस्तै भएको छ ।
गत असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ७ दशकअघि भारतको जम्मूबाट नेपाल आएर बसोबास गरिरहेका सरदार प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत धाएको अभिव्यक्ति दिए । यसपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले यसै विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डको राजीनामा मागिरहेको छ ।
त्यसपछि संसद् छिरेका एमाले सांसदहरूले प्रधानमन्त्री प्रचण्डको राजीनामा नदिएसम्म संसद् नै चल्न नदिने अड्डी कसे । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नै भने, “प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा आउनुपर्छ । राजीनामा नआइन्जेल संसद् चल्दैन ।”
यही सन्दर्भमा सांसदसमेत रहेका प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलसँग कुराकानी गरेको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कसेको छ, यसमाथि तपाईंको टिप्पणी के छ ?
टिप्पणी केही छैन । यो हुन नसक्ने कुरा हो । हुनु हुँदैन ।
तर, एमालेले त राजीनामा नै चाहिन्छ भनेको छ नि ? के सरकार संसद् नखुलाइ बस्छ ?
बहुमत सांसदहरूले निर्वाचित गरेको प्रधानमन्त्री हुनुहुन्छ उहाँ (पुष्पकमल दाहाल ‘प्रचण्ड’) । बहुमत सांसदहरूले निर्वाचित गरेको प्रधानमन्त्रीले कोही-कसैले ‘राजीनामा दे’ भन्दैमा दिइहाल्नुपर्छ भन्ने हुँदैन । दिनु हुँदैन, दिनु पर्दैन । अवरोध कायम राख्ने भन्ने कुरा ठिक होइन ।
उसोभए अब कसरी टुङ्गिन्छ यो विवाद ? कसरी मनाउनुहुन्छ प्रमुख प्रतिपक्षीलाई ?
संवादको माध्यमबाट विवाद टुङ्ग्याउँछौँ । अहिले पनि छलफलमै छौँ । यो छलफललाई जारी राख्छौँ । छलफलकै माध्यमबाट निकास निस्किन्छ, निकाल्छौँ । यहीँबाट विषय टुङ्गिन्छ । थप दाँयाबाँया हुँदैन ।
प्रमुख प्रतिपक्षी मान्छ त ? संवादकै माध्यमबाट विवाद टुङ्गिन्छ त ?
मान्छ, मान्नुपर्छ । हामीले संवादकै माध्यमबाट विवाद टुङ्ग्याउने हो ।
कसरी भन्न सक्नुहुन्छ तपाईं ?
सबै विषयहरू टुङ्गिने संवाद र वार्ताबाटै हो । सरकारले विपक्षी दलसँग संवाद गर्छ । चरण-चरणमा संवाद गर्छौँ, वार्ता गर्छौँ । विषय संवादबाटै टुङ्गिन्छ । शङ्का गर्नै पर्दैन ।
प्रधानमन्त्रीज्यूले पनि नबोल्नुपर्ने कुरा बोल्नुभयो जस्तो चाहिँ भएको छैन तपाईंहरूलाई ?
होइन, विषय प्रसङ्गले कहिलेकाहिँ बोल्नुपर्ने कुरा पनि बोलिन्छ, नबोल्नुपर्ने कुरा पनि बोलिन्छ । तर, यो सामान्य विषय हो । यसलाई अनावश्यकरूपमा ठूलो बनाउने प्रयत्न गरियो, ववण्डर मच्चाउने काम गरियो । यो ठिक होइन ।
नेपाल भ्यूजबाट