काठमाडौ, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई मंगलबार पक्राउ गरेको हो ।
यस प्रकरणमा सीआईबीले डेढ वर्षअघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो । त्यसपछि अनुसन्धान रोकिएकोमा अहिले ब्यूरोले फाइल खोलेर आरोपितलाई पक्राउ गरेको हो ।
राजनीतिकरूपमा पदको दुरुपयोग गर्ने नेता, कर्मचारी र सरकारी जग्गा हडप्नेहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
कागजात किर्ते गर्ने कर्मचारी तथा अन्य व्यक्तिलगायत तीन सय जनाविरुद्ध छुट्टै अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन दिएको थियो ।
जग्गा हडप्न सरकारी कागजात नै लोप पार्ने, कागजातका अंक र अक्षरमा थपघट गर्ने तथा मन्त्रिपरिषदबाट भएका निर्णयको अपव्याख्या गरी त्यसलाई नै आधार मानेर तलबाटै टिप्पणी उठाउने काम भएको सीआईबीको अनुसन्धानबाट पुष्टि भएको छ ।