काठमाडौ, संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । आजको बैठकमा पनि विनियोजन विधेयकबारे मन्त्रालयगत छलफल जारी रहनेछ ।
बिहान ११ बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित तीन मन्त्रालयमाथिका शीर्षकको छलफल सकिएको छ ।
बैठकमा सञ्चार मन्त्रालयका साथै परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथि सांसद्हरूले आफ्ना धारणा राखेका थिए ।
यस्तै, आजको बैठकमा नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा, ठाकुरप्रसाद गैरे, सूर्य थापा, जुलीकुमारी महतो, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल र आम जनता पार्टीका प्रभु साहले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।