विमानस्थलको तार काट्न लगाउने मेयर बालेनलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण


काठमाडौं, काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घेराबार गरेको फेन्सिङ तार (काँडेतार) काटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने तार काटेपछि बालेनसहित तीन जनालाई स्पष्टीकरण सोधिएको छ।

बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो। प्राधिकरणले यस कार्यलाई कानुन विपरीत भएको आरोप लगाएको छ।

‘‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबरजस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईँ (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु,’’ प्राधिकरणले मेयरलाई शुक्रबार लेखेको स्पष्टीकरण पत्रमा भनिएको छ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।

यस विषयमा चित्तबुझ्दो जवाफ नपाएमा मेयर बालेनसहित घटनामा संलग्नहरूलाई उडानमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरणका एक उच्च अधिकारीले जनाए। यो कानुन उल्लंघन गरेको पुष्टि भएमा ५० हजार रुपैयाँसम्म जरिवाना पनि तिर्नुपर्नेछ।


प्रकाशित मिति : २०८० असार २, शनिबार गते

धेरै पढिएको

ताजा समाचार