प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने


काठमाडौ, संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । ​संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

यही १५ जेठमा पेस भएको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो ।

बजेटमाथिको छलफल आइतबार सकिएको थियो । करिब एक सातासम्म भएको छलफलमा अधिकांश सांसदले असन्तुष्टि जानुका साथै विरोध गरेका छन् ।

केही सांसदले भने समयअनुसार बजेट प्राथमिकतासहित आएको प्रतिक्रिया दिएका छन् ।

सांसदहरूले सबै निर्वाचन क्षेत्र र जिल्लामा समानुपातिक प्रणालीबाट बजेट विनियोजन नभएको भन्दै आपत्ति जनाएका छन् ।

पहुँचवाला नेता र मन्त्री भएको क्षेत्रमा विकास बजेट बढी छुट्याएको सत्तापक्षकै सांसदहरूको आरोप छ ।

प्रतिपक्षी दलका सांसदले बजेटले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या र चुनौती ठीक ढङ्गले पहिचान गरेर समाधानका उपायहरू अघि सार्न नसकेको, राजश्व संकलन लक्ष्य अविश्वसनीय रहेको बताएका छन् ।

सरकारले आगामी वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सरकारले चालू खर्चमा ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २० प्रतिशत र पुँजीगत ३ खर्ब २ अर्ब ७ करोड १७ दशमलव २५ प्रतिशत रकम विनियोजन गरेको छ ।


प्रकाशित मिति : २०८० जेष्ठ २९, सोमबार गते

धेरै पढिएको

ताजा समाचार