काठमाडौं, कीर्तिपुरका असीम बुढाथोकी सधैँ कालीमाटी आउजाउ गर्छन् । विद्यालय नै कालीमाटी भएका कारण उनलाई दैनिक सार्वजनिक सवारीसाधन चढ्नुपर्ने बाध्यता छ ।
उनले दैनिक यात्रागर्दा घटेको मूल्यअनुसार सवारी भाडा तिर्न पाएका छैनन् । कालीमाटीदेखि कीर्तिपुरसम्मको विद्यार्थी भाडादर नघट्दै १२ रुपियाँ थियो ।
उनले अहिले १५ रुपियाँ तिर्दै आएका छन् । अहिले घट्दा १० रुपियाँ मात्र तिरे हुनुपर्ने दैनिक पाँच रुपियाँ बढी तिर्नु परेको छ ।
उनले भने , ”सरकारले सवारी भाडा घटाएको भन्ने सुनेको हो । तर, सहचालकले सधैँ घटेको मूल्य सूची पाएका छैनौँ भन्दै १५ रुपियाँ नै लिने गरेका छन् ।
“सहचालकले यसअघि नै १२ रुपियाँ भाडा रहेको समयमा चानचुन पैसा छैन भन्दै १५ रुपियाँ नै लिने गरेको उनले बताए ।
यस्तै समस्या अर्का यात्रु प्रशंसा ढकालको पनि छ । सुन्धारामा भेटिएकी उनले भनिन,“सरकारले डिजेलको मूल्य घटाएसँगै भाडादर पनि घटाएको समाचार पढेको हो ।
तर, गाडी चढ्दा घटेको भाडा लागु नै भएको छैन भनेर बढी माग्ने गरेका छन् ।”
उनका अनुसार पहिले २८ रुपियाँ रहेको भाडा ३० रुपियाँ लिँदै गरेका सहचालकले मूल्य घटेपछि पनि ३० रुपियाँ नै लिने गरेका छन् ।
यी दुई त केही प्रतिनिधि पात्र मात्र हुन् । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा यात्रा गर्ने हरेक यात्रुले अहिले सरकारले घटाएको भाडादर अनुसार भाडा तिर्न पाएका छैनन् ।
उनीहरूले पहिलेको मूल्य भन्दा पनि बढी भाडा तिर्दै यात्रा गर्नुपर्ने बाध्यता छ । सरकारले घटाएको भाडादर सार्वजनिक सवारीले कार्यान्वयन नगर्दा यात्रु ठगिने गरेका छ ।
यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले सरकारले घटाएको भाडादर अव्यवहारिक भएको आरोप लगाए ।
उनले भने , “सरकारले घटाएको भाडादर नै अव्यवहारिक छ । यो व्यावहारिक नभएसम्म कार्यान्वयन गर्न गाह्रो छ ।”
अन्तरप्रदेश चल्ने भाडादर घटेपनि प्रदेशअन्तर्गत चल्ने सवारीको भाडादर वैज्ञानिक नभएका कारण नघटेको उनको भनाइ छ।
उनले भने ,“सरकारले घटाएको भाडादर वैज्ञानिक छैन् । केन्द्रले घटाएसँगै प्रदेशले पनि उही अनुपातमा घटाउनुपर्छ । सङ्घले घटाएलगत्तै प्रदेशले भाडादर घटाउनुपर्छ ।
धेरै ढिला गरेर सार्वजनिक गरेको भाडादर पनि अव्यवहारिक छ । यसलाई पुनरावलोकन गर्नुपर्छ ।”
देश एउटै भएकाले केन्द्रले घटाएको मूल्य र प्रदेशले घटाएको मूल्य एउटै किन हुन नसकेको रु भन्ने उनको प्रश्न छ ।
उनले भने , “नेपाल देश त एउटै हो । जुन ठाउँमा भएपनि डिजेलको घटेको मूल्य त एउटै हो ।
त्यसकारण केन्द्रले घटाएको मूल्य अनुसार प्रदेशले सोही अनुसार तत्काल मूल्य घटाउनुपर्ने हो ।”
यस्तै श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका प्रवक्ता शङ्करराज पाठकले प्रदेशभित्र घटाइएको भाडादर कार्यान्वयन नगर्नेलाई कारबाही गरिने बताए ।
भाडादर वैज्ञानिक रूपमा नै निर्माण गरिएकाले भाडादर वैज्ञानिक छैन भन्नु मूर्खता मात्र भएको उनी बताउँछन् ।
पाठकले भने , “भाडादर वैज्ञानिक रूपमा नै कायम गरिएको छ । स्वचालित मूल्य अनुसार घटेको भाडादर मान्दैनौँ भन्नु मूर्खता हो ।
यातायात व्यवसायीले यसको पालना गर्नै पर्छ ।” मन्त्रालयमा भाडादर नघटेको गुनासो आउने क्रम बढेकाले मन्त्रालयले भाडादर घटाउनका लागि यातायात व्यवसायीहरूलाई पत्र लेख्ने तयारी भइरहेको उनले सुुनाए ।
पाठकले भने , “भाडादर नघटेको गुनासो आउने क्रम बढेको छ । त्यसैले भाडादर घटाउनका लागि उपत्यकाभित्र यातायात सञ्चालन गर्ने यातायात समितिहरूलाई पत्र लेख्ने तयारी भइरहेको छ । पत्र पठाउँछौँ ।”
बागमती प्रदेश सरकारले दुई हप्ता अघि प्रदेश भित्र सञ्चालन हुने यातायातको भाडादर घटाएको थियो । तर, देशको राजधानी काठमाडौंमै यसको पालना भएको छैन् ।