रसुवा, चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी ८ वर्षपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । २०७२ वैशाख १२ मा भूकम्प आएको अर्को दिनदेखि बन्द रहेको यो नाका सोमबारबाट पूर्ण रूपमा खुलेको हो ।
भूकम्पपछि बन्द यो नाका सरकार, स्थानीयबासी र व्यापारीको दबाबपछि बेलाबेलामा एकतर्फी रुपमा मात्र सञ्चालनमा आउने गरेको थियो ।
नेपालबाट ८ वर्षयता पहिलोपटक सोमबार सामान चीनतिर गएको हो । यसअघि नाका आंशिक रुपमा खुल्दा चीनबाट सानो परिमाणमात्र मात्र सामान आयात हुने गरेको थियो ।
यस नाकाबाट सोमबार तीन कन्टेनर सामान चीन निकासी भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । कोभिड महामारी सुरु भएसँगै चीनले नेपालतर्फका सबै नाका बन्द गरेको थियो ।
गत जेठमा चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरी नाका सञ्चालनमा ल्याइए पनि आंशिक क्षमतामा मात्र सञ्चालनमा आएको थियो ।
सरकारका प्रतिनिधि तथा राजनीतिक दलका नेताहरुले दुईतर्फी रुपमा नाका खुलाउन पहल गर्दै आएका थिए ।
यसअघि गत चैत १८ मा केरुङतर्फको नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको तथा सोहीबेला गरिएको सहमतिबमोजिम सोमबारदेखि तातोपानी नाका सञ्चालनमा आएको हो ।
तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक यसअघि नै सम्पन्न भएको थियो ।
नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा सुरक्षा निकाय, अध्यागमनलगायतका अधिकारी बैठकमा सहभागी थिए ।
तातोपानीका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले सोमबार म्याट्रेस र बेत बाँसका कुर्सी निकासी भएको जानकारी दिए ।
उनका अनुसार निकासी भएको सामानको मूल्य २९ लाख रुपैयाँ छ । मंगलबार हस्तकलाका सामान निकासीको तयारी रहेको उनले जानकारी दिए ।
भूकम्पपछि यो नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । भूकम्पपछि पहिरो र कोभिडका कारण नाका सञ्चालनमा आउन नसकेको हो । यो नाकाबाट आयात भने भइरहेको थियो ।
यो नाकाबाट दैनिक १० कन्टेनर सामान आयात भइरहेको छ । नाका खुले पनि नेपाली चालक र सहचालक चीनतर्फ जान पाउँदैनन् ।
अहिले पनि चिनियाँ पक्षले सीमा क्षेत्रमा कन्टेनरमा सामान ल्याउने र त्यहीँबाट नेपाली पक्षले अनलोड गरेर सामान ल्याउने गरेका छन् ।
नेपाल सरकारका सहसचिव तथा चीनको स्वशासित क्षेत्र तिब्बतस्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले अहिले दुवैतर्फका सवारीसाधनका लागिमात्रै नाका खुला भएको जानकारी दिए ।
मानिस आवतजावतका विषयमा थप छलफल भइरहेको उनले बताए ।
दुवै देशबीच कोभिड संक्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सीमा सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकताअनुसार संयुक्त गस्ती गर्ने विषयमा पनि छलफल भएको छ ।
थप चेकप्वाइन्ट राख्ने व्यवस्था मिलाउने, सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदानप्रदान गर्नेबारे पनि छलफल भएको जनाइएको छ ।
चीनले नेपाललाई अघोषित नाकाबन्दी लगाएको टिप्पणी नेपाली व्यवसायीहरुले गर्दै आएका थिए ।
चीनसँग जोडिएका केरुङ र रसुवागढी नाका द्विपक्षीय सहमति भन्दा पनि चीनकै एकपक्षीय निर्णयमा खुल्ने–बन्द हुने गर्दै आएका छन् ।
चीनसँगका यी दुई नाका पूर्ण रूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो ।
नेपाली पक्षले भारतको कोलकातासम्म जलमार्गबाट र त्यसपछि स्थलमार्ग हुँदै सामान ल्याउने गरेको छ । यसका कारण समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा पर्दै आएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चीनतर्फका दुवै नाका सञ्चालनमा आएसँगै नेपाल–चीन व्यापार पुरानै लयमा फर्कने अपेक्षा लिइएको प्रतिक्रिया दिए ।
“केरुङ नाका खुलेको र तातोपानी सञ्चालनमा आउँदा उत्साहित छौं,” अध्यक्ष मल्लले भने । नेपाल र चीनबीच व्यापारघाटाको दायरा भने बढ्दो छ । त्यसका लागि नेपालतर्फबाट निर्यात बढाउनुपर्ने जरुरी छ ।
चीनले नेपाललाई ८ हजारभन्दा बढी वस्तुको निकासीमा भन्सार छुट सुविधा दिँदै आए पनि त्यसको सदुपयोग हुन सकेको छैन ।
नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मलुक चीनमा नेपालले खाद्यान्नदेखि घरेलु उत्पादनहरु निर्यात गर्दै आएको छ ।
नेपालबाट चीनमा अगरबत्ती, हस्तकला, कपाल, पश्मिना, छाला, औषधि, म्युजिकल उपकरण, चाउचाउ, तयारी पोशाक, रुद्राक्ष, चिया, तरकारी, पिठो, उनी गलैंचालगायतका वस्तुहरु निर्यात हुँदै आएको छ ।