Er. Babu Ram Paudel
Project Director
National Pride Project | Civil Aviation Authority of Nepal
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको यो क्षणलाई कसरी स्मरण गर्न चाहनुहुन्छ ?
सन् २०१४ मा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन अर्थात ईपीसी मोडेलमा चाइना सीएएमसी इन्जिनियरिङले निर्माण सम्झौता गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ बाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । २०१६ को मार्चमा चाइना एक्जिम बैंकसँग ऋण सम्झौतामा हस्ताक्षर भएसँगै निर्माणको चरणमा प्रवेश गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन् २०१७ को जुलाईमा थालनी भएको हो । करिब २१६ मिलियन अमेरिकी डलरको निर्माण लागत रहेको नेपालको राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको यो अन्तर्राष्ट्रिय विमानस्थल यति छिटो निर्माण सम्पन्न भएर सञ्चालनमा आउला भन्ने कमैले सोचेका थिए होलान् ।
कोभिड १९ को माहामारीबीच भएको निर्माणमा यसको असर कस्तो रह्यो ?
नेपाल नागरिक उड्डयन प्राधिकरणको निरन्तरको सक्रियता र निर्माण पक्षले देखाएको तदारुकताको तालमेल मिल्दा यो योजना समयमै निर्माण सम्पन्न भएको हो । कोभिड १९ का कारण अपेक्षित कार्य तालिकामा असर पनि प¥यो । कोभिड १९ को सुरुआतमा हाम्रो कामले अझ बढी गति लिएको थियो । क्याम्प बन्द गरेर इन्जिनियर, कन्ट्रयाटर एकै ठाउँमा बसेर धमाधम रातदिन अहोरात्र काम भए । तर, भएका निर्माण सामग्री सकिएपछि भने हामीले कामै ठप्प पार्नुपर्ने अवस्था आयो र एक वर्ष अगाडि सकिनुपर्ने परियोजना एक वर्ष पछाडि धकेलिएको हो । काम रोक्न नपरेको भए तोकिएको समयअगावै सकिने थियो ।
यो विमानस्थल निर्माणका क्रममा के कस्ता चुनौतिहरु देखिए ?
चार दशकदेखि निर्माण हुने चर्चा भएर, केही जग्गासमेत अधिग्रहण गरेर पनि निर्माण हुन नसकेको परियोजना निर्माण भएर सम्पन्न हुनु पक्कै पनि कम चुनौतिपूर्ण कार्य होइन । त्यसमाथि विकास भइसकेको सहर नजिक बन्नुपर्ने विशाल संरचनाले स्थानीयको दैनिकी र भौतिक सम्पत्तिमा पार्ने प्रभावले पनि असर गर्ने नै भयो । ईपीसी मोडेलमा बनेको पहिलो यति ठूलो परियोजना भएकाले कतिपय अस्पष्टता आपैmँमा पनि थिए । जसलाई हाम्रो परामर्शदाता निर्माण कम्पनी र हाम्रो समेत सुझबुझबाट समाधान गर्दै अगाडि बढ्यौं । अन्तिम सुखद् परिणाम अहिले हामी सबैसामु छर्लङ्ग छ ।
त्यसबाहेक रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट स्थानान्तरणले पनि ठूलै चर्चा बटुलेको हो । रिठ्ठेपानी डाँडा काट्नुपर्छ भन्ने इन्जिनियरिङमा उल्लेख भए पनि विमानस्थल नै नबनी डाँडा कटान गर्ने कार्य पूरक ईआईए गर्नुपर्ने भएकाले र कोभिड १०९ को असरले गर्दा लम्बिन पुग्यो । साथै त्यहाँ भएको डाँडा कटान गर्ने काम मन्त्रालयले समन्वय गर्दा विद्यमान कानुन र पद्धतिले गर्दा सोचेभन्दा बढी समय लाग्यो ।
सरोकारवालाहरुले विमानस्थलको निर्माणको गति र लयलाई समातेर निर्णय गर्न नसक्दा पनि यसको प्रक्रियामा जटिलता देखिएको मात्र हो । मलाई लाग्छ समयमै विमानस्थल बन्नेछ भन्ने भावनामा अन्य सरोकारवाला पक्षहरुले निर्णय प्रक्रिया अगाडि नबढाउँदा ल्यान्डफिल साइट स्थानान्तरण, सिञ्चाइ र ड्रेनेज व्यवस्थापनमा समेत अलि अलि समस्या देखिएको हो । त्यसबाहेक यति ठूलो निर्माण कार्य त्यसमा पनि अधिकांश कम्पोनेन्टमा हाम्रो वैदेशिक परनिर्भरता अनि हामीले यस विमानस्थल निर्माणमा प्रयोग गरेका नयाँ नयाँ प्रविधि आपैmँमा चुनौतिपूर्ण थिए ।
यो विमानस्थल सञ्चालनमा के कस्ता जटिलताहरु बाँकी छन् ?
अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनको चरणमा आइसकेको छ । उच्च गुणस्तरीयता कायम गरेर गरिएको विमानस्थल निर्माणका कारण बिनाजटिलता सञ्चालनमा आउनेमा कुनै द्विविधा छैन । विमान सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएको ल्यान्डफिल साइट पुर्ने काम सम्पन्न भइसकेको छ । यो मात्रै अलिक ढिला भएकाले यहाँ खानेकुरा खोज्न आउने चराहरुको आनिबानी र रुट परिवर्तन नहुँदासम्म अलिक संयमित र सचेत भएर उडान गर्नुपर्ने बाध्यता छ । यो प्राकृतिक हो र यसमा विभिन्न पद्धतिहरु अपनाएर छिटो यो संदेहबाट मुक्ति पाइनेमा मेरो विश्वास रहेको छ ।
यो विमानस्थल अरुभन्दा कसरी पृथक छ ?
निमार्णका हिसाबले धावनमार्ग, ट्याक्सी वे तथा एप्रोनको पेभमेन्ट स्ट्रक्चर रिजिड पेभमेन्ट हो । यो लागतका हिसाबले केही महंगो परे पनि दीर्घकालीन टिकाउपना र मर्मतसंभारमा व्ययभार कम पर्ने हुन्छ । त्यसबाहेक विमानस्थलका विभिन्न कम्पोनेन्टमा पनि अत्याधुनिकता कायम गरिएको छ । नेपालमै पहिलो पटक बोर्डिङ ब्रिज यस विमानस्थलमा जडान गरिएको छ । कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा पनि अन्तर्राष्ट्रिय मापदण्ड अक्षरसः पालना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा यो अझ आधुनिक र सुरक्षित रहेको छ । यो चौबीसै घण्टा सञ्चालनमा ल्याउन सकिने एक अत्याधुनिक र सुविधासम्पन्न विमानस्थल हो ।