काठमाडौँ । स्नातक तह, स्नातकोत्तर तह, एमफील तथा पीएचडी गरेर त्रिभुवन विश्वविद्यालयमा वार्षिक साढे चार लाखभन्दा बढी विद्यार्थी भर्ना हुन्छन् । देशभरका उच्च शिक्षा अध्यापन गराउने १८ वटा विश्वविद्यालय तथा प्रतिष्ठानमध्ये त्रिविमा झण्डै ८० प्रतिशत विद्यार्थी अध्ययन गर्छन् ।
विश्वविद्यालय अनुदान आयोगको तथ्याङ्कअनुसार सन् २०२१/०२२ (२०७८/०७९) मा देशभरका १८ वटा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा पाँच लाख ७९ हजार ४४८ विद्यार्थी भर्ना भएका छन् । तीमध्ये ७८.३६ प्रतिशत अर्थात् चार लाख ५४ हजार ६५ विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा भर्ना भएका थिए ।
उच्च शिक्षा अध्ययन गर्ने जम्मा विद्यार्थीको ७८ प्रतिशत त्रिविमा पढिरहेको भए पनि पास हुने दर भने निकै न्यून देखिन्छ । आयोगको तथ्याङ्क अनुसार सन् २०२१/०२२ मा त्रिविको पास हुने दर २९.३३ प्रतिशत देखिएको छ ।


