संघीयताको मर्ममा प्रहार नगर्न सांसद आलेमगरको चेतावनी


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद सुरेश आलेमगरले सरकारले ल्याउन लागेका कतिपय कानुनहरूले सङ्घीयताको मर्ममा प्रहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद मगरले खानी तथा खनिज पदार्थ सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकले स्थानीय तहको अधिकार खोस्न खोजेको बताए ।

सांसद मगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले ढुङ्गा, गिट्टी, बालुवा, माटो र स्लेट जस्ता सामग्रीको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको स्मरण गराए । तर, अहिले सरकारले ल्याउन लागेको नयाँ विधेयकले ती अधिकारहरू कटौती गर्ने र स्थानीय तहको आम्दानीको स्रोत सुकाउने खेल भइरहेको उनको आरोप छ । ‘सङ्घीय व्यवस्थामा स्रोत र अधिकारको बाँडफाँड स्थानीय तहसम्म हुनुपर्छ, तर यो सरकारले स्थानीय तहको अधिकार कटौती गरेर सङ्घीयतामाथि धावा बोल्दैछ,’ उनले भने ।

सङ्घीयताले देश टुक्राउँछ भन्ने भ्रम फैलाउन खोजिएको भन्दै उनले त्यसको खण्डन गरे । स्विट्जरल्याण्ड र अमेरिका जस्ता देशहरूको उदाहरण दिँदै आलेले भने, ‘सङ्घीयताले देश टुक्रिँदैन, बरु नेपाल जस्तो विविधतायुक्त मुलुकका लागि यो सबैभन्दा वैज्ञानिक र उपयुक्त व्यवस्था हो ।’

सांसद मगरले वर्तमान सरकारको कार्यशैलीलाई एक्सप्रेस गाडीसँग तुलना गर्दै व्यङ्ग्य गरे । उनले भने, ‘लोकल गाडी भन्दा एक्सप्रेस गाडी छिटो पुग्छ, त्यो राम्रो हो । तर यदि त्यो गाडीको चालकले मादक पदार्थ सेवन गरेको छ वा दम्भ र अहङ्कारमा मातेको छ भने दुर्घटना निश्चित छ ।’ उनले सरकारमा बस्नेहरूलाई दम्भ र अहङ्कार त्यागेर संयमित भएर काम गर्न सुझाव दिए ।


प्रकाशित मिति : २०८३ श्रावण २७, बुधबार गते

धेरै पढिएको

ताजा समाचार