नेपालमा हेलमेट स्वच्छतामा नयाँ क्रान्ति, गैरे फ्रेशपोडले भित्र्यायो पहिलो स्यानिटाइजिङ मेसिन


बुटवल, १८ असार। नेपालमा पहिलो पटक हेलमेट क्लीनिंग तथा स्यानिटाइजिङका लागि अत्याधुनिक मेसिन भित्रिएको छ। भारतको एकमात्र प्रतिष्ठित कम्पनी फ्रेशपोड इन्डियाले उत्पादन गरेको यस मेसिनको नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेशपोड प्रालि रहेको कम्पनीले जनाएको छ।

गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेका अनुसार लामो समय हेलमेट प्रयोग गर्दा पसिना, धुलो, ब्याक्टेरिया र दुर्गन्ध जम्ने समस्याको समाधानका लागि यो प्रविधि नेपालमा भित्राइएको हो। उनले मेसिनमा अनलाइन क्यूआर (QR) भुक्तानी प्रणाली समेत जडान गरिएको जानकारी दिँदै ग्राहकले नगद बोक्नुपर्ने झन्झटबिनै डिजिटल माध्यमबाट सहज रूपमा सेवा शुल्क भुक्तानी गर्न सक्ने बताए।

सन् २०२५ मे ४ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले यस मेसिनको औपचारिक उद्घाटन गरेका थिए। छोटो समयमै भारत, श्रीलंका तथा अफ्रिकालगायतका देशमा विस्तार भएको फ्रेशपोडले हालसम्म २०० भन्दा बढी मेसिन बिक्री गरी ५ लाखभन्दा बढी हेलमेट स्यानिटाइज गरिसकेको कम्पनीले जनाएको छ। फ्रेशपोडले भारतमा गोल्ड मेडल तथा सर्बिया, थाइल्यान्ड, मलेसिया र चीनमा आयोजित अन्तर्राष्ट्रिय इनोभेसन प्रदर्शनीहरूमा समेत अवार्ड प्राप्त गरेको छ।

गैरे प्रतिष्ठानका निर्देशक प्रवेशराज गैरेका अनुसार यो मेसिनले जम्मा ५ मिनेटमा हेलमेटभित्रको धुलो, दुर्गन्ध र जीवाणु हटाई हेलमेटलाई सफा, स्यानिटाइज र सुगन्धित बनाउँछ। मेडिकल ल्याब परीक्षणबाट प्रमाणित यो प्रविधिबाट स्यानिटाइज गरिएको हेलमेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यो सेवा विशेषगरी मोटरसाइकल चालक, राइडर, डेलिभरी सेवा प्रदायक तथा दैनिक हेलमेट प्रयोगकर्ताका लागि उपयोगी हुनेछ। नियमित हेलमेट सरसफाइले छालासम्बन्धी समस्या तथा संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।

कम्पनीले आजदेखि नेपालमा औपचारिक रूपमा सेवा सुरु गर्दै आगामी दिनमा पेट्रोल पम्प, सपिङ कम्प्लेक्स, कलेज, अस्पताल तथा टू व्हीलर डिलर एंड सर्विस सेंटर नेटवर्कमार्फत देशभर सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

कम्पनीका अनुसार हेलमेट स्यानिटाइजिङ मेसिनको मूल्य भ्याटसहित ५ लाख ९५ हजार रुपैयाँ रहेको छ, जसमा एक वर्षको म्यानुफ्याक्चरिङ वारेन्टी उपलब्ध रहेको छ। एउटा हेलमेट स्यानिटाइज गर्न १७५ रुपैयाँ सेवा शुल्क निर्धारण गरिएको छ।


प्रकाशित मिति : २०८३ असार १८, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार