, काठमाडौं । आज १५ असार, २३ औं राष्ट्रिय धान दिवस । सरकारले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको छ । तर, ‘धानमा आत्मनिर्भरता र समृद्धि’ को नारा लगाउँदै गर्दा किसानले छर्ने बिउ भने बर्सेनि १ अर्ब रुपैयाँ बढीको भित्रिने गरेको छ ।
नेपालमा धानको बिउ उत्पादन पर्याप्त हुने र आन्तरिक उत्पादनले नै पुग्ने सरकारको दाबीबीच उन्नत र विशेषगरी हाइब्रिड (वर्णशंकर) जातको बिउमा किसानको आकर्षण बढी हुँदा देश पूर्णरूपमा परनिर्भर रहेको देखिन्छ ।
भन्सार विभागको तथ्यांक अनुसार धानको बिउ आयात गत वर्षको तुलनामा ११.४२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) १ अर्ब २९ करोड ९४ लाख ३२ हजार रुपैयाँ बराबरको धानको बिउ नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको बिउ आयात भएको थियो ।
मूल्यका आधारमा हेर्दा गत वर्षको तुलनामा यो वर्ष १३ करोड ३१ लाख ९७ हजार रुपैयाँ बढीको धानको बिउ आयात भएको छ ।
मूल्यसँगै परिमाणका आधारमा पनि यो वर्ष धानको बिउ आयात बढेको छ । गत वर्षकोे ११ महिनामा २ हजार ५ सय ७० टन धानको बिउ आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ हजार ९ सय ९३ टन भित्रिएको छ ।
विभागको तथ्यांकअनुसार नेपालमा आयात हुने धानको बिउमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा छिमेकी मुलुक भारत र चीनले ओगटेका छन् । ११ महिनामा भारतबाट मात्रै १ अर्ब १४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको २ हजार ६ सय ६९ टन धानको बिउ आयात भएको छ ।
त्यसैगरी, चीनबाट १५ करोड ६७ लाख रुपैयाँ बराबरको ३ सय २४ टन धानको बिउ भित्रिएको तथ्यांक छ । भारत र चीनबाहेक नेपालले अन्य तेस्रो मुलुकबाट पनि नगन्य मात्रामा परीक्षण वा अन्य प्रयोजनका लागि बिउ आयात गरेको देखिन्छ ।
भियतनामबाट १ सय ४८ किलो, बेलायतबाट १२ किलो, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) बाट ५/५ किलो तथा साउदी अरेबियाबाट ३ किलो धानको बिउ नेपाल भित्रिएको छ ।
एकातिर बीउमा आत्मनिर्भर उन्मुख भएको सरकारी दाबी र अर्कोतिर बर्सेनि सवा अर्बभन्दा बढीको बिउ आयात हुनुले नेपालको कृषि अनुसन्धान र किसानको आवश्यकताबीच खाडल देखिन्छ ।
माग ७१ हजार टन, उत्पादन ७८ हजार टन : तर, आयात किन ?
कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्यांक अनुसार नेपालमा १३ देखि साढे १४ लाख हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. माथुर यादवका अनुसार उक्त क्षेत्रफलमा प्रतिहेक्टर ५० किलोका दरले हिसाब गर्दा नेपाललाई वार्षिक करिब ७१ हजार टन धानको बिउ आवश्यक पर्छ ।
नेपालमा धानको बिउको आन्तरिक उत्पादन मागभन्दा बढी नै हुने गरेको छ, तर हाइब्रिड बिउको पर्याप्त विकल्प स्वदेशमा नहुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
‘तथ्यांकलाई हेर्ने हो भने हामी बिउमा आत्मनिर्भर छौं, गत वर्ष हाम्रो आन्तरिक उत्पादन नै ७० देखि ७८ हजार टनसम्म थियो,’ डा. यादवले अनलाइनखबरसँग भने, ‘तर, समस्या कहाँ छ भने हाम्रो कुल बिउ प्रणालीमध्ये ७७ प्रतिशत अनौपचारिक (इन्फर्मल) छ, अर्थात्, किसानले पुरानै बिउ राख्ने वा एकअर्कासँग साटासाट गरेर लगाउँछन्, नयाँ प्रमाणित बिउ किनेर लगाउने औपचारिक हिस्सा जम्मा २३ प्रतिशत मात्र छ ।’
उनका अनुसार गत वर्ष करिब ३ हजार टन बिउ आयात भएको थियो । ‘हामीसँग बिउ नै नभएर आयात भएको होइन, आयात भएको कुल बिउमध्ये ९० प्रतिशत त हाइब्रिड जातका हुन्,’ डा. यादवले थपे ।
हाइब्रिडको भोक, स्वदेशी जातको अभाव
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म १५० भन्दा बढी धानका उन्नत जातहरू सिफारिस र सूचीकृत गरेको छ । तर, किसानको सर्वाधिक आकर्षण रहेको हाइब्रिड जात भने नेपालमा जम्मा दुईवटा मात्र विकास भएका छन् ।
बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत तथा सूचना अधिकारी डा. प्रकाश आचार्य स्वदेशी हाइब्रिडको विकल्प नहुँदा किसान विदेशी बिउको भर पर्न बाध्य भएको बताउँछन् ।
‘नेपालमा विकास भएका खुमल सिरिज, हर्दिनाथ, सावित्री जस्ता विकासे जातहरू यहीँ उत्पादन हुन्छन्, तर स्वदेशी हाइब्रिड धान जम्मा दुईवटा (हर्दिनाथ हाइब्रिड–१ र हर्दिनाथ हाइब्रिड–३) मात्र छन्,’ आचार्यले भने, ‘किसानहरूको हाइब्रिड धानप्रति रुची बढ्दो छ, स्वदेशी हाइब्रिड बिउ पर्याप्त नभएपछि बाहिरकै बिउ प्रयोग गर्नुपर्ने बाध्यता छ ।’
विदेशी हाइब्रिडको दबदबा तोड्न राज्यले हाइब्रिड अनुसन्धानमा ठूलो लगानी गर्नुपर्ने उनको भनाइ छ ।
डा. आचार्यका अनुसार नेपालको भौगोलिक अवस्था र मौसमअनुसार विभिन्न जातका धानहरू सिफारिस गरिएका छन् । चैते धानका रूपमा मुख्यतया ‘चैते–५’ र ‘हर्दिनाथ–१’ लगाइन्छ । चैते धानलाई वर्षे सिजनमा पनि लगाउन मिल्ने तर वर्षे धानलाई भने चैतमा लगाउन नमिल्ने उनले बताए ।
यस्तै, वर्षे धानका रूपमा हर्दिनाथ–६, हर्दिनाथ–५, राम धान, राधा–४ र सावित्री जस्ता जातहरू बढी प्रचलित छन् । पहाडी क्षेत्रका लागि ‘खुमल सिरिज’ अन्तर्गत खुमल–४, १०, १२, १४, १६ र १८ लगाइन्छ भने उच्च पहाडी क्षेत्रका लागि माछापुच्छ्रे, छामरुङ, लेकाली–१ र लेकाली–३ जस्ता जातहरू सिफारिस गरिएका छन् ।
नेपालमै विकास भएका अन्य जातका बिउहरू स्वदेशमै उत्पादन भइरहे पनि विदेशी हाइब्रिडको दबदबा तोड्न राज्यले विशेष नीति लिनुपर्ने डा. आचार्यको भनाइ छ ।
‘मुख्य कुरा राज्यले हाइब्रिड धानको अनुसन्धान र उत्पादनमा लगानी बढाउनु पर्नेछ,’ डा. आचार्यले भने, ‘हाम्रो आफ्नै हाइब्रिड जातका धानको पर्याप्त विकास र उत्पादन नभएसम्म विदेशी जातहरूको प्रभुत्व यहाँ रहिरहन्छ, किसानहरूलाई हाइब्रिडको विकल्प नदिएसम्म विदेशी बिउमै निर्भर हुनुपर्ने अवस्था कायमै रहन्छ ।’
नार्कको स्वीकारोक्ति : अनौपचारिक रूपमा भारतकै भर
धानको मूल बिउ (ब्रिडर सिड) उत्पादन गर्ने प्रमुख दायित्व बोकेको सरकारी निकाय नार्कको उत्पादन क्षमता भने अत्यन्तै न्यून छ ।
नार्कका प्रवक्ता डा. भानुभक्त पोखरेल औपचारिक बिउ उत्पादन प्रणाली कमजोर हुँदा विदेशी बजारमै निर्भर हुनुपरेको यथार्थ स्वीकार्छन् । बसाइँसराइ र सहरीकरणले खेतीयोग्य जमिन घट्दै गएको उनको भनाइ छ ।
‘हाम्रो १४ लाख हेक्टर जमिनका लागि चाहिने बिउको तुलनामा नार्कको उत्पादन असाध्यै कम छ,’ प्रवक्ता पोखरेलले भने, ‘नेपालगन्जको खजुरा, भैरहवा, परवानीपुर, तरहरा लगायतका फार्महरूबाट हामीले करिब २ सय टनको हाराहारीमा मात्र स्रोत बीउ उत्पादन गर्छौँ ।’
उक्त स्रोत बिउलाई किसान समूह र कम्पनीमार्फत वृद्धि (मल्टिप्लाई) गरेर उन्नत बिउ बनाइए पनि त्यो पर्याप्त छैन ।
‘हामीसँग यति धेरै बिउ फर्मल (औपचारिक) तरिकाले उत्पादन गर्ने प्रणाली नै छैन,’ डा. पोखरेलले भने, ‘अनौपचारिक रूपमा हामी सबै भारतमै निर्भर हुने हो ।’
खुल्ला सिमानाका कारण किसानले आफैं बोरामा बोकेर ल्याउने बिउको त झन् हिसाब नै नभएको सरकारी अधिकारी नै बताउँछन् ।
यद्यपि, धानको बिउ उत्पादनमा केही आशलाग्दा संकेत पनि नभएका होइनन् । डा. माथुर यादवका अनुसार सरकारी फार्महरू (जनकपुर, तरहरा, चन्द्रगढी आदि) बाहेक पछिल्लो समय निजी क्षेत्रले पनि बिउ उत्पादनमा चासो बढाएको छ ।
‘लुम्बिनी प्रदेशमा मात्रै करिब ३१ वटा निजी बिउ कम्पनीहरू दर्ता भएर राम्रो काम गरिरहेका छन्,’ उनले भने, ‘सुदूरपश्चिम र मधेश प्रदेशमा पनि विभिन्न निजी कम्पनीहरूले उन्नत जातका बिउ उत्पादन गरिरहेका छन् ।’
पछिल्ला वर्षमा कति भयो धानको बिउ आयात ?
मुलुकले बर्सेनि ठूलो धनराशी खर्चेर धानको बिउ आयात गर्दै आएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ अर्ब १६ करोड ६६ लाख ८० हजार रुपैयाँको २ हजार ५ सय ७० दशमलव ७२७ टन धनको बिउ आयात भएको थियो ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा ८८ करोड ६६ लाख ९ हजार रुपैयाँको २ हजार १ सय ७ दशमलव ४६ टन धानको बिउ आयात भएको तथ्यांक छ ।
आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ६३ लाख ९३ हजार रुपैयाँ लागतमा १ हजार ८ सय ८३ दशमलव ०९ टन बिउ भित्रिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ८७ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबरको ५ हजार ११५ दशमलव ०७ टन बिउ आयात भएको देखिन्छ ।
तथ्यांक विश्लेषण गर्दा आर्थिक वर्ष २०७७/७८ मा नेपालले सबैभन्दा ठूलो परिमाणमा बिउ आयात गरेको देखिन्छ । उक्त वर्ष २ अर्ब १७ करोड ३८ लाख ६८ हजार रुपैयाँ खर्चिएर ४५ हजार २ सय ८४ दशमलव ६१ टन बिउ आयात गरिएको थियो ।

