मधेस प्रदेशको विवाद आइपुग्यो रास्वपा महाधिवेशन स्थलसम्म


राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा मधेस प्रदेशको प्रतिनिधिभित्र विवाद देखिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मधेस प्रदेशअन्तर्गत ५७२ प्रतिनिधिको प्रारम्भीक नामावली सार्वजनिक गरेको छ।

त्यसमा पनि अहिलेसम्म सबैभन्दा बढी दाबी/विरोध परेको एक नेताले बताए।

उनकाअनुसार प्रदेश सभापति र केही नेताहरूले आफूखुसी नाम समावेश गरेको भन्दै उजुरी परेको छ।

निर्वाचन आयोगले त्यसमै छानबिन गरिरहेको छ।

‘मधेस प्रदेशमा धेरै त्रुटि भेटिएको छ। पालिकाबाट आएका महाधिवेशन प्रतिनिधिहरूको नाम देखिएको छैन। यसै सन्दर्भमा बढी उजुरी, दाबी विरोध परेको छ। पार्टीले सच्याउँदै छ। यताउता परेका नाम आयोगले छानबिन गरिरहेको छ, निष्कर्ष हुँदै गर्ला,’ ती नेताले सेतोपाटीसँग भने।

मधेस प्रदेशमा वडा र पालिकाहरूको अधिवेशनदेखि नै विवाद भएको थियो।

विवादका बीच वडा र पालिकाको अधिवेशन टुंगिए पनि जिल्लाहरूको अधिवेशन भने प्रभावित भयो।

पर्साबाहेक कुनै पनि जिल्लाको अधिवेशन भएन। जिल्लाहरूकै अधिवेशन हुन नसकेपछि प्रदेश अधिवेशन पनि स्थगित गरिएको थियो।

अहिले पुरानै तहगत समितिहरूबाट महाधिवेशनमा प्रतिनिधित्व गराइएको छ।

मधेमा देखिएको यो विवाद अहिले केन्द्रीय महाधिवेशनको हलमा पुगेको हो।

मधेस लगायतका क्षेत्रको प्रतिनिधित्वको विवाद निरूपण नसकेपछि बन्द सत्र निर्धारित समयभन्दा तीन घन्टा विलम्ब भइसकेको छ।

निर्वाचन आयोगले केही बेरमा प्रतिनिधिलाई कार्ड वितरण गर्ने सूचना बन्दसत्रको हलबाट दिइएको छ।


प्रकाशित मिति : २०८३ असार ८, सोमबार गते

धेरै पढिएको

ताजा समाचार