काठमाडौँ । नेपालमै पहिलो पटक ‘एनिमेसन फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघले एनिमेसन विकास र प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिभल आयोजना गर्न लागेका हुन् । ‘मैले देखेको नेपाल’ थिम रहेको फेस्टिभल आगामी अक्टोबरमा आयोजना हुनेछ ।
आयोजकले राजधानीमा एक कार्यक्रम गर्दै महोत्सवको आधिकारिक मस्कट ‘आफ्फे’ सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय चरो डाँफेमा आधारित ‘आफ्फे’ लाई महान् कलाकार अरनिकोको सिर्जनात्मक शैलीबाट प्रेरित भई डिजाइन गरिएको आयोजक पक्षले जनाएको छ । यो मस्कटले नेपाली कलाकारहरूको जीवन्त कल्पनाशीलता र सिर्जनाशीलतालाई प्रतिनिधित्व गर्छ । महोत्सवमा एनिमेटेड लघु चलचित्रहरूको प्रदर्शनी, कन्सेप्ट आर्ट च्यालेन्ज र विभिन्न एनिमेसन प्रतियोगिताहरू हुनेछन् ।
महोत्सवका लागि २ देखि १० मिनेटसम्मका एनिमेसन तथा भि.एफ.एक्स आधारित लघु चलचित्रको आवेदन खुला गरिएको छ । यसमा नेपालसहित विश्वभरका कलाकार, एनिमेटर र चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन् ।
महोत्सवसँगै संघले एनिमेसन क्षेत्रमा दक्ष जनशक्ति र रोजगारी प्रदायक कम्पनीहरूलाई जोड्ने उद्देश्यले ‘करिअरबोर्ड’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय चलचित्र तथा गेम स्टुडियोमा कार्यरत १२ जना नेपाली कलाकारहरूको भिडियो प्रस्तुति देखाइएको थियो, जसले विश्व बजारमा नेपाली एनिमेटरहरूको बढ्दो प्रभाव र योगदानलाई उजागर गरेको छ ।

