सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ


सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ स्थित जग्गा विवादको विषयमा गाडी तोडफोड तथा प्रहरी कार्यालयमा हुलहुज्जत गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत सर्लाहीले कालिका उप्रेतीको निर्विवाद हकभोग तथा स्वामित्वको जग्गामा भोगचलन गर्न नरोकिने आदेश दिएपछि उप्रेती आफ्नो जग्गा भोगचलन गर्न गएका थिए । सो क्रममा केही व्यक्तिले अवरोध गरेपछि शान्ति सुरक्षाका लागि छलफल गर्न इलाका प्रहरी कार्यालय केशरगञ्ज पुगेका बेला उप्रेतीको सवारी साधन तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै इलाका प्रहरी कार्यालय केशरगञ्जको मुख्य गेटसमेत तोडफोड गर्ने प्रयास गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका–११ घर भई हाल ईश्वरपुर–१५ सुकनाहामा बस्दै आएका ३२ वर्षीय विनोद कडेरिया, सोही स्थानका ६२ वर्षीय जयप्रसाद गौतम र उनका ३६ वर्षीय छोरा उज्ज्वल गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी मुद्दामा असार २ गतेदेखि लागू हुने गरी ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : २०८३ असार ५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार