रास्वपा सिरहामा सहमति जुटेन, आजै निर्वाचन प्रक्रिया सुरु हुने


२५ जेठ, सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ ।

निर्वाचन कार्यक्रमअनुसा आज बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन आयोगका कार्यवाहक निर्वाचन संयोजक डा. इन्द्रजित महतोले जानकारी दिएका छन् ।

शनिबार बिहान ८ बजेदेखि अधिवेशनको खुला सत्र सुरु भए पनि नेतृत्व चयनमा सहमति कायम हुन नसकेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको उनले बताए ।

उनका अनुसार सिरहाका चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा समानुपातिक सांसद पुरुषोत्तम यादवलगायतका नेताहरूले पटक-पटक सहमतिको प्रयास गरे पनि सफल हुन नसकेपछि निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको हो ।

डा. महतोका अनुसार निर्वाचनका अधिकांश प्रक्रिया पूरा भइसकेका छन् भने मतदाताको नामावली प्रकाशन गर्न मात्र बाँकी रहेको छ। सम्पूर्ण तयारी पूरा गरेर आज बिहान १० बजेदेखि सुरु गरिने उनले बताए ।

जिल्ला सभापति पदका लागि वर्तमान सभापति हरिप्रसाद मैनालीयुवा नेता सुभाष कुमार यादव र राम सौगारथ यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपसभापति पदका लागि इ. अरविन्द कुमार रामजीवछ यादवनिमा कुमारी यादव र गीता शाही चुनावी मैदानमा छन्। सचिव पदमा रमेश कुमार यादवराजेन्द्र मण्डलपरीतोष कुमार यादव र अमित राज राईबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी दर्तापछि सहमतिको प्रयास जारी रहे पनि प्रमुख पदहरूमा एकभन्दा बढी आकांक्षी कायम रहेकाले अन्ततः नेतृत्व चयन निर्वाचन प्रक्रियामार्फत हुने भएको हो ।


प्रकाशित मिति : २०८३ जेष्ठ २५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार