नेपालको चिया निर्यातमा भारतले खडा गरेको अवरोध तत्कालका लागि हटेको छ।
भारतको टी बोर्डले मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षण सम्बन्धी ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ मा संशोधन गरेको हो।
मंगलबार भारतीय टी बोर्डले सूचना जारी गर्दै भारतमा घरेलु बिक्रीका लागि ल्याइने चियालाई टी बोर्डको अनिवार्य परीक्षणबाट अस्थायी रूपमा मुक्त गरेको छ।
भारतीय वाणिज्य मन्त्रालयको निर्देशनमा टी बोर्डले यस्तो सूचना जारी गरेसँगै अब नेपालबाट बिनाअवरोध चिया भारत जाने भएको छ।
‘भारतीय टी बोर्डले एसओपीमा संशोधन गरेसँगै अब नेपालबाट पहिले जसरी नै चिया भारत जानेछ,’ नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भने ‘बोर्डको यो सूचनाले अवरोध हटेको छ।’
मे १ देखि भारतले लागू गरेको नयाँ नियमले नेपाली चिया निर्यातलाई पूरै ठप्प बनाएको थियो। प्रत्येक ‘कन्साइनमेन्ट’को अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो समयको ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू ठूलो समस्यामा परेका थिए।
टी बोर्डले जारी गरेको पत्रअनुसार अब पुनः निर्यातका लागि ल्याइने चियालाई भने अनिवार्य रूपमा परीक्षण गरिनेछ। तर भारतमा मात्र घरेलु बिक्रीका लागि ल्याइने चिया कन्साइनमेन्टलाई अनिवार्य परीक्षण गर्नुपर्ने छैन। यद्यपि ‘रयान्डम’ परीक्षण भने हुनसक्नेछ
टी बोर्डले जारी गरेको सूचनामा प्रयोगशाला रिपोर्ट नमूना प्राप्त भएको पाँच दिनभित्र अपलोड गर्नुपर्ने निर्देशन पनि दिइएको छ।
यो संशोधनले विशेष गरी नेपाली चियालाई राहत दिने अपेक्षा नेपालका उद्योगीहरुको छ।
उद्योगीहरुका अनुसार नेपालबाट भारत निर्यात हुने ठूलो परिमाणको चिया घरेलु बिक्रीका लागि नै हुन्छ। यसले सीमामा हुने ढिलासुस्ती घटाउने, लागत कम गर्ने र व्यापारलाई सहज रूपमा सुरू गर्न मद्दत पुग्ने व्यापारीहरूको भनाइ छ।
भारतले गुणस्तर नियन्त्रण र मिसावट रोक्न भन्दै मे १ देखि कडा नियम लागू गरेको थियो जसका कारण वैशाख १८ देखि नेपाली चिया निर्यात पूरै प्रभावित बनेको थियो।
भारतीय टी बोर्डको पश्चिम बंगालमा रहेका कर्मचारीहरुले भारतीय चिया व्यापारीहरुलाई नेपालबाट चिया नमगाउन, मगाएको थाहा भए गोदामबाटै नमूना संकलन थाल्ने चेतावनी दिएका थिए।
सीमा नाकामा बोर्डका कर्मचारीले झनै कठोर बन्ने संकेत दिइरहँदा भारतीय वाणिज्य मन्त्रालयले एसओपी संशोधन गर्न निर्देशन दिएको थियो। यसले तत्कालका लागि नेपालको चिया उद्योगलाई राहत भएको छ।
मे १ देखि भारतीय टी बोर्डले नेपालबाट भारततिर चिया बोकेर जाने प्रत्येक गाडीबाट चियाको नमूना संकलन गर्ने नियम लगाएपछि नेपाली व्यापारीले चिया पठाएका थिएनन्।
प्रयोगशाला परीक्षणको बहानामा लामो समय कुर्नपर्ने बाध्यताबाट आजित नेपाली पक्षले भारतीय पक्षको मुड बुझ्न एउटा गाडी भारतीय नाका पानीट्यांकीतर्फ पठाएको थियो। झापाबाट चिया लोड गरेर पानीट्यांकी पुगेको ४ दिनपछि भारतीय टि बोर्डका कर्मचारीले अघिल्लो सोमबार उक्त चियाको नमूना संकलन गरेका थिए। प्रयोगशाला पठाउन नमूना संकलन भएको पनि १० दिन पूरा भएको छ भने चिया भारत पुगेको १४ दिन बितिसकेको छ।
यतिका समयसम्म पनि कोलकातास्थित प्रयोगशालाबाट परीक्षण रिपोर्ट भने आएको छैन।
केही दिन अघिबाट दिल्लीस्थित नेपाली दूतावासबाट भारतीय वाणिज्य मन्त्रालयमा अवरोध खुलाउन पहल भइरहेको थियो। सोही सूचना दूतावासबाट दुई दिन अघि नेपाली पक्षलाई जानकारी आएको थियो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले पनि दिल्लीस्थित दूतावासले ‘अवरोध खुलाउन लगातार प्रयास गरिरहेको’ बताएका थिए।
नेपालमा अहिले साना ठूला गरी १२० हाराहारी चिया उद्योग छन्। त्यस्तै, १०० भन्दा बढी साना–मझौला उद्यमी सक्रिय छन्, जहाँ किसान र श्रमिक गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिसले रोजगारी पाएका छन्।
अघिल्लो वर्ष मात्रै सिटिसी र अर्थोडक्स गरी कुल ४ अर्ब ७५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएको थियो।
हाल नेपालभर २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। नेपाली चियाको मुख्य बजार भारत नै हो, जहाँ ९० प्रतिशत अर्थोडक्स र झन्डै आधा सिटिसी चिया जाने गर्छ।

