बुटवल । बुटवल औद्योगिक क्षेत्रभित्र रहेका विभिन्न उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ । पश्चिम एसियामा जारी युद्धका कारण कच्चा पदार्थ आयात प्रभावित हुँदा उद्योग सञ्चालनमा समस्या भएको उद्योगीहरू बताउँछन् ।
बुटवल औद्योगिक क्षेत्रभित्र रहेको लिटमस्ट केवल उद्योगले तार उत्पादन गर्दछ । उक्त कम्पनीले दुबईबाट तामाको कभर, भारतबाट प्लास्टिकजन्य कच्चा पदार्थ आयत गरी यहाँ केबल उत्पादन गर्दै आएको छ ।
अहिले पश्चिम एसियामा जारी युद्धका कारण कच्चा पदार्थ आयातमा सकस भएको छ भने भारतबाट आउने प्लास्टिकजन्य कच्चा पदार्थको मूल्य वृद्धि भएको छ ।
खासगरी इन्धनका कारण भाडदर र विश्वबजारमा प्लास्टिकजन्य कच्चा पदार्थको मूल्यवृद्धि भएकाले तार उत्पादनको लागत बढेको लिटमस्ट उद्योगका व्यवस्थापक भुवन गिरीले बताए ।
उनले भने ‘अहिले दुबईबाट कच्चा पदार्थ आयात रोकिएको छ । प्लास्टिकजन्य पदार्थ भारतबाट ल्याउँदा ४० प्रतिशतभन्दा धेरै लागत वृद्धि भएको अवस्था छ ।’
यो उद्योगमा वार्षिक १० हजार टन कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ । अहिलेसम्म उद्योग जसोतसो सञ्चालन भइरहेको जनाउँदै गिरीले यसरी कहिलेसम्म सञ्चालन हुने हो भन्ने अन्योल रहेको प्रस्ट पारे ।
बुटवल औद्योगिक क्षेत्रभित्र रहेका आलम प्लास्टिक उद्योग र युनाइटेड इन्डस्ट्रीका सञ्चालक एजाज आलमले पछिल्लो समय एक टन प्लास्टिकको कच्चा पदार्थ आयात गर्दा करिब ७ सय डलरभन्दा बढी रकम तिर्नु परेको बताए । उद्योगमा भएको कच्चा पदार्थ सकिएपछि उत्पादन बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ स्थित कोहिनुर प्लास्टिक इन्डस्ट्रिजले उत्पादन गरेको हेल्मेटले नेपाली बजारमा राम्रो स्थान ओगटेको छ । उक्त कम्पनीले आवश्यक कच्चा पदार्थ विदेशबाट ल्याएर यहाँ हेलमेट उत्पादन गर्दै आएको छ ।
उक्त कम्पनीका सञ्चालक सुमन बस्यालले युद्धका कारण अहिले अन्य मुलुकबाट आउने कच्चा पदार्थ स्वाभाविक रूपमा महँगो भएको तर त्यही महँगो सामान पनि कहिलेसम्म ल्याउन पाइरहने हो भन्ने अन्योल रहेको बताए ।
हेलमेट उत्पादन गर्दा भाइजरका लागि कच्चा पदार्थको रूपमा प्लास्टिकको दाना आयात गर्नुपर्ने प्रस्ट पार्दै उनले भारतबाट आयात हुने त्यस्ता सामानको मूल्य वृद्धि भएकाले अब उत्पादनको लागत पनि बढ्न थालेको जनाए ।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका व्यवस्थापक दीपक आचार्यले पश्चिम एसिया युद्धका कारण नेपाली उद्योगहरूको उत्पादनमा प्रभाव परेको बताए । उनले अधिकांश उद्योगको कच्चा पदार्थ आयातमा समस्या भएको जनाए ।
खासगरी प्लास्टिकजन्य उद्योगको कच्चा पदार्थमा भारी मूल्यवृद्धि भएको आचार्यको भनाइ छ । औद्योगिक क्षेत्रमा रहेका सबैजसो उद्योगलाई चाहिने ‘केमिकल’जन्य वस्तु भारतबाहेक अन्य देशबाट ल्याउन सकस भएको उनले बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले पश्चिम एसिया युद्ध असरले बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक कोरिडोरलगायतका क्षेत्रका उद्योगहरूमा कच्चा पदार्थ अभाव देखिन थालेको जानकारी दिए । उनले उद्योगमा कच्चा पदार्थ महँगो हुँदा उत्पादन लागत बढेर मूल्यवृद्धि हुने तर कच्चा पदार्थ नै आउन सकेन भने उद्योग बन्द गर्नुको विकल्प नरहेको बताए ।
बेलहिया नाकाबाट यहाँका उद्योगीहरूले कच्चा पदार्थ ल्याउने गर्दछन् । भैरहवा भन्सार कार्यालय सूचना अधिकारी उद्धव ढुंगानाले कच्चा पदार्थको आयात घट्नसक्ने सम्भावना देखिएको बताए । युद्ध सुरु हुनुअघि सम्बन्धित मुलुकबाट पठाइएका कच्चा पदार्थ अहिलेसम्म आइरहेको तर अब भने कच्चा पदार्थ आयातको क्रम बिस्तारै बन्द हुँदै जाने अवस्था रहेको उनले बताए ।
उद्योगका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा ३० प्रतिशतभन्दा धेरै वृद्धि भएको उद्योगीहरूको दाबी छ ।
लुम्बिनी प्रदेश उद्योग परिसंघको अध्यक्षसमेत रहेका एजाज आलमले विगतमा ९०० डलरमा पाइने कच्चा पदार्थको मूल्य अहिले १६ सयभन्दा धेरै पुगेको कारणे औद्योगिक उत्पादनको मूल्य वृद्धि हुने बताए । उनले केही उद्योगले उत्पादन नै बन्द गर्नु परेको जानकारीसमेत दिए ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले पहिलो चरणमा प्लास्टिकजन्य उद्योग अप्ठ्यारोमा परेको जनाए । यही अवस्था अझै केही समय लम्बिए नेपालका धेरैजसो उद्योग बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ ।
इन्धनको मूल्य वृद्धि, कच्चा पदार्थ आउन सकस तथा पाएको कच्चा पदार्थ पनि अति महँगो भएका कारण उद्योगीहरूले आफ्नो उत्पादनको मूल्यवृद्धि गर्नुपर्ने बाध्यता आउने उनले बताए ।
नेपाली उद्योगीले प्रायः भारतको रिलायन्स र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्लास्टिकका दाना खरिद गर्ने गर्छन् ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनी अध्यक्ष होमराज भुसालले कच्चा पदार्थ आयातमा देखिएको असहजताले केही न केही मूल्यवृद्धि हुने प्रस्ट पारे ।

