काठमाडौंलाई पर्यटकीय नगरी पोखरासँग जोड्ने मुग्लिन–पोखरा सडक आयोजनाको काम सकिनै लागेको छ। दुई लेनको सडकलाई चार लेनमा विस्तार गरेर आयोजनाको काम सकिन लागेसँगै यात्रा छोटिएको मात्र छैन, सहज र सुरक्षित पनि बनेको छ। सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार मुग्लिनदेखि तनहुँको जामुनेसम्म अब ३ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ।
पूर्वी खण्डमा अहिले बिमलनगर, दमौलीमा काम भइरहेको छ। यी दुई ठाउँमा कालोपत्र सकिएसँगै दमौलीको मादी पुलबाहेक कालोपत्रको काम सकिने पाण्डेले बताए।
‘विमलनगरमा मर्स्याङ्दी नदी किनारबाट पर्खाल उठाएर सडक फराकिलो बनाउने काम भइरहेको छ। दमौलीमा पनि कालोपत्र भइराखेको छ। यी दुई ठाउँको काम सकिएपछि मादी पुलबाहेक पूर्वी खण्डमा कालोपत्रको काम सकिन्छ,’ उनले भने। मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वीखण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो। सडक आयोजनाले दमौलीको मादी पुल र पोखराको सेती पुललाई भने छुट्टै ठेक्का लगाएर काम गरिरहेको छ।
पूर्वी खण्डको ४१.४५ किमीअन्तर्गत ३८ किलोमिटर सडक दुईतर्फी कालोपत्र भइसकेको छ। जसमा ३५ किलोमिटर सडकमा कालोपत्रमाथि अस्फाल्ट कालोपत्र पनि सकिएको इञ्जिनियर पाण्डेले बताए। दुई पटक म्याद थप गरिएअनुसार उक्त खण्डको म्याद आउँदो असार २९ गते सकिँदैछ। म्यादभित्रै कालोपत्रका सबै काम सकिने पाण्डेले बताए। ‘असार मसान्तसम्म मुग्लिनदेखि जामुनेसम्म अस्फाल्ट कालोपत्र सकिन्छ। बर्खामा काम गर्न नमिल्ने भएकाले दमौलीको मादी पुलको काम भने आगामी वर्षसम्म धकेलिने अवस्था छ,’ उनले भने।
सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरा सम्मको सडक पनि जेठ पहिलो सातासम्म एकतर्फी कालोपत्र सकिने उनले बताए। पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पश्चिम खण्ड ३८.८ किलोमिटर सडकमा हालसम्म दुईतर्फी कालोपात्र १८.५ किलोमिटर सकिएको छ भने एकतर्फी ३५ किलोमिटर कालोपत्र सकिएको छ। वर्षात सुरू हुनुअघि नै एकतर्फी कालोपत्र सकेर यात्रुलाई हिलो र धुलोबाट मुक्त बनाउन लागेको कुँवरले बताए। उनका अनुसार अब एकतर्फी कालोपत्र गर्न ३ किलोमिटर मात्र बाँकी छ।
‘यो वर्षातदेखि यात्रुले हिलो र धुलो खेप्नुपर्दैन, एकतर्फी भए पनि कालोपत्र सकिन्छ। आउँदो पुस दोस्रो सातासम्म पश्चिम खण्डको म्याद छ, त्यतिबेलासम्म दुइतर्फी कालोपत्र गरेर अस्फाल्ट गर्छौ। पुलहरूका काम पनि समयमै सक्छौं,’ उनले भने। सडक आयोजनाको पूर्वी खण्डमा अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ भने पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको छ।
पश्चिम खण्डमा पोखराको सेती पुल, विजयपुर पुल र तनहुँको सेरा पुलको काम सकिन बाँकी छ। जसमा सेती पुलको ठेक्का छुट्टै लगाइएको थियो। सेती पुलको काम ४३ प्रतिशत र विजयपुर पुलको काम ५० प्रतिशत सकिएको छ। बर्खापछि पुलको काम सकिने गरी अघि बढेको उनले बताए। पश्चिम खण्डमा पर्ने तनहुँको मौरीभीरमा पहिरोको समस्या देखिएकाले पर्खाल उठाएर रोकथामका उपाय खोजिएको कुँवरले बताए।
‘काठमाडौंको ग्वार्को ओभरपासमा जस्तै मौरीभीरमा पर्खाल उठाउन डिजाइन भइराखेको छ, बाँकी ठाउँमा तीव्र गतिमै सडक विस्तारको काम भइराखेको छ,’ उनले भने। जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा सडक कालोपत्र गरिए पनि अस्फाल्ट बिच्छ्याउन बाँकी छ। कालोपत्रको काम सकिएसँगै अस्फाल्ट बिच्छ्याइने आयोजना प्रमुख कुँवरले बताए। सडक आयोजना अन्तर्गत पूर्वी खण्डमा १.८ किलोमिटर र पश्चिम खण्डमा २० किलोमिटर सडक ६ लेनको बन्नेछ। सहरी क्षेत्रमा सडक अझ फराकिलो बनाउन ६ लेन बनाउन लागिएको हो। पूर्वी खण्डका इञ्जिनियर पाण्डेका अनुसार तनहुँको दमौली र डुम्रे बजारमा सडक ६ लेनको बन्नेछ भने पश्चिम खण्डमा पोखरा, तनहुँको आँबुखैरेनीलगायत सहरी क्षेत्रमा ६ लेनको सडक बन्दैछ।
लेन छुट्याउन बीचमा राखिएको डिभाइडरमा पनि ठेकेदार कम्पनीले नै फुल रोप्ने र हरियाली प्रवर्द्धन गर्ने योजना रहेको पश्चिम खण्डका आयोजना प्रमुख कुँवरले बताए। पृथ्वी राजमार्ग २०२१ सालमा निर्माण थालेर २०३० सालमा सकिएको थियो। त्यतिबेला चिनियाँ सहयोगमा निर्माण भएको सडक दुई लेनको थियो। अहिले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो। पहिलेभन्दा दोब्बर फराकिलो पारिएको सडकको बीचमा डिभाइडर राख्ने र डिभाइडरमा फूल एवं हरियाली प्रवर्द्धनमा पनि ठेक्का सम्झौतामा उल्लेख छ।
विश्वमै महँगो र टिकाउ प्रविधि मानिएको अस्फाल्ट प्रविधिमा सडक विस्तार गरिएको आयोजनाका पश्चिम खण्ड प्रमुख कुँवरले जानकारी दिए। उनका अनुसार डुम्रे, दमौली, पोखरालगायत सहरी क्षेत्रमा भने सडक ६ लेनको हुनेछ।

