“नथिङ अरुभन्दा फरक छ” विनय जोशी महाप्रबन्धक, सिजी मोबाईल


आशिष लामिछाने , रौतहट, अशोज १० : नथिङ अरुभन्दा फरक छ। नथिङ स्मार्टफोनको प्रिमियम ब्राण्ड हो । यसको ब्राण्ड भ्यालु अन्तर्राष्ट्रिय बजारमा आईफोनसँग तुलना गरिन्छ । नेपाली बजारमा उपभोक्तालाई यो कुरा बुझाउन हामी अहिले निक्कै मिहेनत गरिरहेका छौं । मूल्यमा मिडियम रेन्जका स्मार्टफोनमा प्रिमियम फिचर र दिईएको गुणस्तरीयता नथिङको विशेषता हो ।

विनय जोशी
महाप्रबन्धक, सिजी मोबाईल

चौधरी ग्रुपले प्राथमिकता सहित नथिङ नै नेपाली बजारमा लन्च गर्नुलाई कसरी लिनुपर्छ ?
नेपाली बजारमा स्मार्टफोनको कारोबार एकपटक बन्द गरिसकेको चौधरी समूहले पुनः स्मार्टफोनको कारोबारमा हातहाल्नु निक्कै अर्थपूर्ण छ । चौधरी ग्रुप जस्तो ठूलो ब्यावसायिक घराना एकपटक बन्द गरिसकेको ब्यावसायमा पुःन फर्किंदैछ भने अवश्य पनि निकै सोचविचार गरेरै फर्किनुपर्छ, अव यहाँबाट पछाडी फर्किने वा असफल हुने विकल्प नै हामीसँग छैन । त्यसैले यहाँले प्रश्नमा आशंका गरेझैं नथिङ लन्चगर्नु निक्कै अर्थपूर्ण छ । नेपाली उपभोक्ताको चाहना, बजारको माग र नेपाली बजारको संभाब्यता अध्ययन गरेपछी गुप्रका प्रबन्ध निर्देशक निर्वाण चौधरीको भिजन र सक्रियतामा नेपाली बजारमा नथिङ लन्च गरिएको हो ।
नथिङ विश्व बजारको पछिल्लो समयको सबैभन्दा तिब्र गतीमा विकास भईरहेको स्मार्टफोन तथा एक्सेसोरीज ब्राण्ड हो । सन् २०२२ मा आफ्नो पहिलो स्मार्टफोन नथिङ वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक सम्म आईपुग्दा ६९३ प्रतिशतको बार्षिक बृद्धिदर हाँसिल गर्न सफल भएको छ । यो मलाई लाग्छ स्मार्टफोन बजारकै सर्बाधिक ठूलो बृद्धिदर हो । त्यस्तै नथिङले यसको मिडरेन्ज स्मार्टफोन नथिङ टु ए भारतीय बजारमा एकैदिन एकलाख युनिट विक्री गरेर नयाँ रेकर्ड बनाउन सफल भएको थियो । यि अवस्थाहरुले निकै सफल संस्थापक कार्ल पेईले स्थापना गरेको नथिङ विश्व बजारको एकदमै संभाब्यता बोकेको ब्राण्ड हो भन्ने पुष्टि हुन्छ । त्यसैले पनि स्मार्टफोन बजारमा पुनरागमन गर्दा नथिङको साथमा सिजीले पुनरागमन गरेको हो ।
नथिङ पश्चात सिजी ले विश्वको पहिलो मोबाईल निर्माता मोटोरोला लाई नेपाली बजारमा आधिकारीक रुपमा भित्र्याउँदै छ भने यसै वर्ष सिजी मोबाईलले आधिकारीक रुपमा आईफोनलाई नेपाली बजारमा भित्र्याउने छ । नेपाली स्मार्टफोन बजारमा बजार हिस्साका आधारमा सिजी मोबाईल पहिलो बन्ने लक्ष्यका साथ अगाडिबढीरहेको छ ।

नेपाली मोबाईल बजारमा रहेको तिब्र प्रतिस्पर्धालाई कसरी लिनुहुन्छ ?
विश्व बजारमा रहेका सबै ठूला स्मार्टफोन ब्राण्ड नेपाली बजारमा उपलब्ध छन् । खुल्ला र प्रतिस्पर्धी बजारनीति आबलम्बन गरेको बजारमा धेरै ब्राण्ड भएपछी प्रतिस्पर्धा हुनु स्वाभाविक नै हो । निक्कै थोरै मुनाफामा निर्भर रहेर गरिने मोबाईलको ब्यापार कारोबारको भोल्युमकै आधारमा बजारमा टिक्नुपर्ने बाध्यताका कारण तिब्र प्रतिस्पर्धा भएको हो । नेपाली बजारमा मात्र होईन विश्व बजारमै स्मार्टफोन तिब्र प्रतिस्पर्धामा आधारीत रहेको छ । कुनै पनि ब्राण्डले कुनै पनि संभावित ग्राहक गुमाउन चाहँदैनन् । मुनाफा नै नभए स्किम भएपनि पाईन्छ भनेर विक्री गर्ने रिटेलर, बार्षिक कमिसन र इन्सेन्टिभ भए पुग्ने डिस्ट्रिब्युटर र विक्री गरेर टार्गेट पु¥याउनपाए पुग्ने आयातकर्ताको मनोभावकै कारण बजारमा तिब्र प्रतिस्पर्धाको महशुष भएको हो । विद्यमान यस प्रतिस्पर्धाले आम नेपाली उपभोक्ता भने निक्कै लाभान्वित भएका छन् । ग्राहक सेवा सुधारमा सबै ब्राण्डको प्रतिस्पर्धा छ र मूल्यमा ग्राहकहरु हरतरहले लाभान्वित भएका छन् । उपभोक्ताको दृष्टिकोणले यो निक्कै राम्रो अवस्था हो ।

नथिङलाई नेपाली बजारमा स्थापित गराउन कस्ता रणनीतिहरु लिईरहनुभएको छ ?
नथिङ स्मार्टफोनको प्रिमियम ब्राण्ड हो । यसको ब्राण्ड भ्यालु अन्तर्राष्ट्रिय बजारमा आईफोनसँग तुलना गरिन्छ । नेपाली बजारमा उपभोक्तालाई यो कुरा बुझाउन हामी अहिले निक्कै मिहेनत गरिरहेका छौं । मूल्यमा मिडियम रेन्जका स्मार्टफोनमा प्रिमियम फिचर र दिईएको गुणस्तरीयता नथिङको विशेषता हो । युनिक डिजाईन, प्रिमियम फिचर, पावरफुल स्पेसिफिकेसन र परफरमेन्समा अब्बल भएका कारण नथिङ अन्तराष्ट्रिय बजारमा आम उपभोक्ताको रोजाईमा पर्न सफल भएको हो । यहि कुरा अहिले विभिन्न माध्यमबाट नेपाली उपभोक्तालाई बुझाउन हामी तल्लिन छौं ।
नथिङले नेपाली बजारमा उपभोक्तालाई हर तरहले सन्तुष्ट पार्ने रणनीति लिएको छ । भारतीय बजारसँग समानान्तर मूल्य निर्धारण देखि विभिन्न किसिमका अफरहरुका साथमा नथिङका विभिन्न डिभाईसहरु उपभोक्ताको हातमा पुग्न सकोस् भन्नेमा नथिङ निक्कै सचेत रहेको छ । नथिङका स्मार्टफोन पहिलोपल्ट चलाउने अवस्था ल्याउनु मात्र हाम्रा लागि चुनौती हो । एकपल्ट नथिङ चलाउने उपभोक्ताले जुन अनुभव प्राप्त गर्छन् त्यसले स्वतः आम उपभोक्ता नथिङ प्रति आकर्षित हुन्छन् ।

नथिङ किन फरक छ ?
यसका संस्थापक कार्ल पेईले स्मार्टफोनहरु निक्कै बोरिङ् भए डिजाईन फिटिक्कै राम्रो भएन भनेरै स्मार्टफोन डिजाईनमा नयाँ इतिहास रच्ने लक्ष्यका साथ नथिङको शुरुवात गरेका थिए । कार्ल यो लक्ष्यमा सफल भईसकेका छन् । नथिङका स्मार्टफोन मात्र होईन सबै एक्सेसोरीजहरु डिजाईनमा एक से एक छन्, नथिङका उत्पादनहरु हुन् भनेर जो कोहिले टाढैबाट छुट्याउन सक्छन् । नथिङ डिजाईनमा मात्र होईन अनुभवका आधारमा पनि फरक छन् । नथिङले स्मार्टफोन उत्पादन गर्नुभन्दा पहिल्यै नथिङ ओएस बनायो, विभिन्न कमर्सियल साझेदारीका आवरणमा ब्लोटवेयरले भरिएका ओएसको तुलनामा क्लिन र ल्याग फ्रि अनुभव दिने नथिङ ओएसले नथिङ स्मार्टफोन प्रयोगकर्ताको अनुभवको नयाँ बेन्चमार्क निर्धारण गरिदिएको छ । प्रिमियम डिजाईन, राम्रो सफ्टवेयर भईसकेपछी नथिङले फिचर र प्राईसिङ्मा पनि आफूलाई अग्रणी राख्न सफल भयो । आफ्नो पहिलो स्मार्टफोन नथिङ फोन वान नै हट केकको रुपमा विश्वभरका उपभोक्ताले लिए । यसले नथिङलाई स्पष्ट रुपमा अरु प्रतिस्पर्धीको तुलनमा फरक स्थानमा राख्न सफल भयो ।
विक्री पश्चातको सेवा र ग्राहक सन्तुष्टिमा नथिङको तुलना अरु कसैसँग हुन सक्दैन । नथिङले नेपाली उपभोक्ताका लागि रिप्लेसमेन्ट वारेन्टी प्रदान गरेको छ । वारेन्टी अवधीमा स्मार्टफोनमा कुनै समस्या आए नथिङका स्मार्टफोन सर्भिस सेन्टरबाट रिप्लेसमेन्ट लिन सकिन्छ । वारेन्टी भन्दा बाहिरको समस्या देखिए वा फिजिकल ड्यामेज भएको खण्डमा समेत नथिङका स्मार्टफोन ग्राहकले तोकिएको शर्त पुरा गरेर रिप्लेसमेन्टमा नयाँ नै लिन सक्नेछन् । यो ग्राहक सेवाका क्षेत्रमा अपुर्व सेवा हो भन्दा अतियुक्ती नहोला ।

नेपाली बजारमा नथिङलाई अग्रस्थानमा ल्याउन के कस्ता चुनौतीहरुको सामान गरिरहनुभएको छ ?
यसको विश्व बजारमा रहेको ब्राण्ड ईमेज नेपाली बजारमा कायम गराउन निक्कै चुनौतीपूर्ण देखिन्छ । नेपाली उपभोक्ता सम्म नथिङको ब्राण्ड भ्यालु, प्रोडक्ट क्वालिटी र ईथिक्सलाई बुझाउन अपरिहार्य छ । नेपाली बजार आकारमा सानो भएकाले यसमा जनचेतना विकासका लागि ठूलो रकम खर्च गर्नसक्ने अवस्था बनिसकेको छैन । अर्कातर्फ खुल्ला सिमानका कारण नथिङका स्मार्टफोन तथा एक्सेसोरीज्हरु नेपाली बजारमा भन्सार छलेर विना विल विजक आउने अवस्था पनि कायमै छ । यद्धपी भारतमा उत्पादन भएका तथा भारतीय बजारका लागि बनाईएका नथिङ स्मार्टफोनमा रिजन स्पेसिफाईड लकिङ् सिस्टम छ, जसले गर्दा भारत बाहिर ति स्र्माटफोन एक्टिभेट गर्न सकिंदैन र रिसेट गर्न पनि मिल्दैन । तै पनि जनचेतनाको कमीका कारण उपभोक्ताले त्यस्ता ग्रे मार्केटमा पाईने स्मार्टफोन किनेर फस्न सक्ने अवस्था कायम रहेको छ । यसमा उपभोक्तालाई हामी सचेत रहन आग्रह गर्छौं ।

 


प्रकाशित मिति : २०८१ आश्विन १०, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार