ग्यास आपूर्तिका विषयमा नवनियुक्त उद्योगमन्त्रीले उद्योगीहरूसँग छलफल गर्ने


काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको अभाव, वितरण प्रणालीमा देखिएका समस्या र यसको सहज आपूर्तिको विषयमा छलफल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले आज बेलुकी ५ बजे विशेष छलफलको आह्वान गरेका छन् ।

बजारमा ग्यासको सहज आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न मन्त्री साहले आज बेलुकी ५ बजेका लागि उद्योगी तथा सम्बन्धित उद्योगीहरूलाई बैठकमा आमन्त्रण गरेका हुन् । पछिल्लो समय ग्यास नपाएर नागरिकहरूले लाइनमा बस्नुपरेको र विभिन्न स्थानमा कालोबजारी बढेको गुनासो बढेसँगै मन्त्री साहले यसमा चासो देखाएका छन् ।

छलफलको तयारीबारे जानकारी दिँदै नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले भने- ‘बजारमा देखिएको ग्यासको समस्याको  विषयमा छलफल गर्न  मन्त्रीज्यूले आज बेलुकी ५ बजे हामीलाई छलफलका लागि बोलाउनुभएको छ । यस बैठकमा हामी ग्यासको सहज वितरण र देखिएका समस्याका बारेमा गम्भीर कुरा राख्छौँ ।’

उनका अनुसार हाल विभिन्न सुरक्षा निकाय र वाणिज्य विभागको संयुक्त टोलीले बजार अनुगमन गरिरहेको भए पनि वितरण प्रणालीमा अझै केही सुधार गर्नुपर्ने देखिएको छ ।


प्रकाशित मिति : २०८३ भाद्र २६, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार