कोशी–नारायणीमा बहाव बढ्ने, सतर्क रहन आग्रह


काठमाडौँ, भदौ १७ गते। जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी, नारायणी, कर्णालीलगायतका प्रमुख नदी तथा सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ।

महाशाखाका अनुसार भोटेकोशीमा आएको बाढीपछि अहिले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ। कोशी, नारायणी, कर्णाली, महाकालीलगायतका नदी तथा तिनका सहायक नदीहरूमा समेत बहाव बढ्ने अनुमान गरिएको छ।

बाढी पूर्वानुमान बुलेटिनमा बुधबार, बिहीबार र शुक्रबार अधिकांश नदीमा उल्लेख्य रूपमा बहाव बढ्ने जनाइएको छ। विशेषगरी त्रिशूली र वेत्रावतीलगायत केही नदीमा आज र भोलि उच्च जोखिम देखाइएको छ। साना नदी तथा खोलामा भने आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको जनाइएको छ।

यसैगरी, बुलेटिनले ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, सल्यान, सुर्खेतलगायतका जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम औँल्याएको छ।

महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्ला वर्षहरूमा पनि नदीको बहाव बढ्दा तटीय क्षेत्रमा डुबान र बाढीको जोखिम बढ्ने गरेको छ।


प्रकाशित मिति : २०८३ भाद्र १७, बुधबार गते

धेरै पढिएको

ताजा समाचार