बागलुङ, भदौ ५ गते । निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण दक्षिण बागलुङको ‘लाइफलाइन’ मानिने बागलुङ–कुश्मीसेरा–देवलधारा–बरेङ–शान्तिपुर जोड्ने रणनीतिक सडकअन्तर्गत कुश्मीसेरा–देवलधारा खण्ड सात वर्ष बितिसक्दा पनि कालोपत्र हुन सकेको छैन।
२०७८ असोजमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न हुनुपर्ने १० किलोमिटर लामो कुश्मीसेरा–देवलधारा खण्ड अलपत्र परेपछि अन्तिमपटक म्याद थप्ने तयारी गरिएको छ। पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर अनिल बर्देवाले कामको अवस्थाका आधारमा ठेक्का सम्झौताको अन्तिमपटक म्याद थप्ने तयारी भइरहेको बताउनुभयो।
“कामको अवस्था हेरेर ठेक्का सम्झौताको अन्तिमपटक म्याद लम्ब्याउने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो।
शर्मा क्याराभान जेभीले २०७६ असोजमा २४ करोड ५८ लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम थालेको थियो। २०८२ चैतमा पाँचौँपटक थपिएको म्याद सकिएपछि काममा फर्किएको निर्माण कम्पनीले महँगीलाई कारण देखाउँदा सडक कालोपत्रको काम अझै पूरा हुन नसकेको हो।
सडक स्तरोन्नतिअन्तर्गत कटिङ, नाली निर्माण र पर्खाल लगाउने काम सकिए पनि सडक कालोपत्रका लागि आवश्यक बिटुमिनको अभाव र मूल्यवृद्धिका कारण तोकिएको समयमा काम सम्पन्न हुन नसकेको शर्मा क्याराभान जेभीका प्रतिनिधि चन्द्र थकालीले बताउनुभयो।
“परिस्थिति सहज बन्दै गएकाले समय थपिए काम सम्पन्न गर्छौँ,” थकालीले भन्नुभयो।
सडक कालोपत्र नहुँदा दक्षिण क्षेत्रका नागरिकले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै यात्रा गर्नुपर्ने बाध्यता छ। स्थानीय प्रशासनदेखि गण्डकी प्रदेश सरकारसम्म गुहार्दा पनि काम अघि नबढेपछि पैयुँथन्थाप र राङखानीवासीले संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएको समितिका संयोजक भीम श्रीसले बताउनुभयो।
श्रीसको नेतृत्वमा गत वर्ष दुई सातासम्म सडक आन्दोलन, जिल्ला प्रशासन कार्यालय तथा मुख्यमन्त्रीको कार्यालय घेराउलगायतका कार्यक्रम गरिए पनि सडक कालोपत्र नभएपछि संघर्ष समितिले प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराउन बाध्य भएको थियो।
सडक निर्माणमा ढिलासुस्ती हुँदा जैमिनी र बरेङवासीले दैनिक सास्ती खेप्दै आएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो। यो खण्डको रुम्टाखोलामा पक्की पुल बने पनि सडकको अवस्था अप्ठ्यारो हुँदा नियमित सवारी सञ्चालनमा समस्या भइरहेको छ। बागलुङ बजारदेखि बरेङसम्म बस सेवा सञ्चालन भए पनि सडकको अवस्थाले स्थानीयलाई सास्ती दिँदै आएको उहाँले बताउनुभयो।
जैमिनी–९ पैयुँथन्थाप र वडा नम्बर १० राङखानीलाई जोड्ने रुम्टाखोलामा पुल बनेर खोला तर्न सहज भए पनि यस खण्डमा कालोपत्र हुन सकेको छैन। “पुल बनेपछि बर्खामा ढुक्कले यात्रा गर्न पाए पनि कच्ची बाटोले साह्रै दुःख दिएको छ,” देवलधाराका निर्मल श्रीसले भन्नुभयो।
रुम्टाखोलामा पानीको बहाव बढ्दा कुश्मीसेरा बजारदेखि सर्कुवा, ब्याडथला, डाँडाखानी हुँदै बरेङ बजार पुग्न घुमाउरो र लामो यात्रा गर्नुपर्ने बाध्यता थियो।
जैमिनीको केन्द्र कुश्मीसेरादेखि राङखानीको नाम्दुक हुँदै बरेङ र गुल्मीको शान्तिपुर जोड्न पूर्वाधार विकास कार्यालय बागलुङले दुई खण्डमा गरी २१ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का लगाएको थियो। राङखानीको नाम्दुकदेखि बरेङसम्मको सडक भने कालोपत्र भइसकेको छ।

