मल अभावमा किसानको ७० किलोमिटर साइकल यात्रा


गुलरिया (बर्दिया), भदौ ५ गते । मधुवन नगरपालिका–४, बाँदरभरियाकी बुधरानी थारू बिहान ६ बजे रासायनिक मल युरियाको खोजीमा निस्कनुभयो। गुलरिया नगरपालिका–१०, रत्नापुरमा भारतीय युरिया पाइन्छ भन्ने खबर पाएपछि उहाँ घरबाट निस्कनुभएको थियो। भारतबाट अवैध रूपमा ल्याइएको युरिया बल्लतल्ल पाएपछि उहाँ साँझ करिब ५ बजे घर फर्किनुभयो।

उहाँसँगै मल लिन जानुभएकी माया थारूको घरमा खोज्न जाने तयारी हुँदै थियो। त्यतिबेलै लखतरान भएर माया घर पुग्नुभयो। पिँढीमा बसेर सुस्ताउँदै मायाले भन्नुभयो, “अझ दुई बोरा मल चाहिन्छ, कसरी ल्याउने हो, सक्दिनँ होला।”

माया त्यसै थाक्नुभएको होइन। आउँदा–जाँदा ७० किलोमिटर साइकल चलाएर ५० किलोग्राम मल ल्याउँदा उहाँ थाक्नुभएको हो।

माया र बुधरानीजस्तै बर्दियाका धेरै किसान लामो दूरी साइकल चलाएर नेपाल–भारत सीमावर्ती क्षेत्रमा युरिया खरिद गर्न पुग्छन्। भारततर्फ जान नपाउने उनीहरूले भारतीयहरूले नेपालतर्फ ल्याएको युरिया उनीहरूले भनेकै मूल्यमा खरिद गर्छन्। भारतीय बजारमा सस्तो मूल्यमा पाइने युरिया नेपाल आइपुग्दा एक बोरा १ हजार ८ सयदेखि २ हजार रुपियाँसम्म पर्ने गरेको बुधरानीले बताउनुभयो।

“नेपालमा भएको भए एक हजार एक सय रुपियाँसम्ममा पाइन्थ्यो,” उहाँले भन्नुभयो, “उता महँगो पर्छ, मल पनि त्यति लाग्दैन।”

नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने युरियालगायत रासायनिक मल समयमा आवश्यक मात्रामा उपलब्ध गराउन नसकेपछि बर्दियाका किसान भारतीय अवैध तथा गुणस्तरहीन रासायनिक मलको भर पर्न बाध्य भएका छन्।

“अब त नेपाली मल लिन लाइन बस्नै मन लाग्दैन,” बाँदरभरियाका हरिराम थारूले भन्नुभयो, “दिनभरि लाइन बस्यो, प्रतिविघा १०–१५ किलो मल दिन्छन्।”

सरकारले पर्याप्त मल उपलब्ध गराउन नसक्दा बर्दियाका किसान महँगो मूल्य तिरेर भारतबाट गुणस्तरहीन मल खरिद गर्न बाध्य भएका छन्। किसानहरू लामो दूरी पार गरेर साइकलमा मल ओसारपसार गर्दै आएको पाइएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गुलरियाका अनुसार बर्दिया जिल्लामा धानको सिजनका लागि १ हजार २४४ मेट्रिक टन युरिया सहकारीमार्फत बिक्री–वितरण गरिएको छ। दोस्रो चरणमा थप एक हजार २०० मेट्रिक टन युरिया बिक्री–वितरण भइरहेको शाखा प्रमुख दिनेश खनालले बताउनुभयो।

“धानको सिजनका लागि मात्र बर्दिया जिल्लामा १० हजार मेट्रिक टन युरिया मलको माग छ। हामीले त्यसको एकचौथाइ मात्र पूरा गर्न सकेका छौँ,” उहाँले भन्नुभयो।

रासायनिक मल आपूर्ति गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन, गुलरिया शाखाका प्रमुख प्रवीणजंग शाहले धानका लागि असार महिनामा ३३२ मेट्रिक टन युरिया, ७८३ मेट्रिक टन डीएपी र ३१ मेट्रिक टन पोटास बिक्री गरिएको बताउनुभयो।

रासायनिक मलको अभावले बर्दियामा धान उत्पादनमा असर पर्ने निश्चित रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीले बताउनुभयो। धानको सिजनका लागि किसानलाई आवश्यक पर्ने ५० प्रतिशत मलसमेत आपूर्ति हुन नसकेको बताउँदै उहाँले किसान बाध्य भएर भारतीय गुणस्तरहीन मल प्रयोग गरिरहेको बताउनुभयो।


प्रकाशित मिति : २०८३ भाद्र ५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार