बागलुङ, भदौ २ गते । पहिरोले पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ देवीस्थानस्थित धाराटोलका १७ घर उच्च जोखिममा परेका छन् । उपल्लो बेङ्ग्री–हाडिचार–बास्खोला गाउँ जोड्ने सडकअन्तर्गत हाडिचारमा खसेको पहिरोले धाराटोलका १७ घर उच्च जोखिममा परेका हुन् । सोही पहिरोका कारण धाराटोलभन्दा तल्लो बस्तीका ४४ घर जोखिममा परेको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरेपछि १७ घर उच्च जोखिममा र ४४ घर जोखिममा रहेको निष्कर्ष निकालेको वडाध्यक्ष विश्वकर्माले बताउनुभयो ।
निरन्तर वर्षा भइरहेको र चट्टानसहितको पहरा चर्किएर जुनसुकै बेला खस्न सक्ने अवस्था रहेकाले उच्च जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । ‘‘आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै बस्तीका सबै परिवारलाई आफन्तको घर तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,’’ वडाध्यक्ष विश्वकर्माले भन्नुभयो ।
पहिरो प्रभावितलाई अन्नपात र वस्तुभाउसहित आफन्तको घर तथा बसाइँसराइका कारण खाली भएका घरमा व्यवस्थापन गरिएको छ । विस्थापितको बसाइँ असहज भएमा रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयको भवनमा वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको छ ।
पहिरोबाट थप क्षति हुन नदिन माथिबाट खस्न सक्ने ढुंगा तथा पहिरो हटाउन स्काभेटर प्रयोग गर्ने तयारी भइरहेको समेत विश्वकर्माले जानकारी दिनुभयो ।
प्राकृतिक विपत्तिको विषम परिस्थितिमा बस्तीवासीलाई संयमित भएर सतर्कता अपनाउन वडा कार्यालयले अनुरोध गरेको छ । विपद्मा उद्धार तथा राहत र पहिरो व्यवस्थापनका लागि आवश्यक पहल गर्नसमेत वडा कार्यालयले सम्बन्धित निकायसमक्ष माग गरेको छ ।
गत बिहीबार पहिरो खस्दा धाराटोल बस्तीमा ठुलो क्षति पुगेको थियो । पहिरोले धनबहादुर खत्री, राजन परियार, दीपक परियार, ज्ञानबहादुर परियार, हरिकला घर्ती, तारा घर्ती, देविराम घर्ती र टीका घर्तीका घर, गोठ र शौचालयमा क्षति पुर्याएको हो ।
बस्तीमाथिबाट पहिरो खस्ने क्रम निरन्तर चलिरहँदा स्थानीयवासी त्रसित बनेका छन् । मोटरबाटोबाट खसेको पहिरोमा ठुला ढुंगा रहेकाले वर्षा हुँदा गाउँ नै बगाउने खतरा रहेको वडाध्यक्ष विश्वकर्माले बताउनुभयो । पहिरोले पुर्याएको भौतिक क्षतिको यकिन तथ्याङ्क भने प्रहरीले सूक्ष्म अध्ययन गरेपछि मात्रै खुल्ने उहाँले बताउनुभयो ।

