ग्रान्ड वी क्यान एकेडेमीमा स्वागत तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न : विशेष अतिथिमा ब्रिज वाटर कलेजका भाइस प्रिन्सिपल विष्णुप्रसाद शर्मा


काठमाडौँ, कोटेश्वर। काठमाडौँको कोटेश्वर–३२ स्थित ग्रान्ड वी क्यान एकेडेमीमा शैक्षिक सत्र २०८३ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अध्ययन पूरा गरेका विद्यार्थीहरूको बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विशेष अतिथिमा ब्रिज वाटर कलेजका भाइस प्रिन्सिपल विष्णुप्रसाद शर्माको विशेष उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष इन्जिनियर राजु कटुवालको सभापतित्व तथा चर्चित गायक धिरज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सांगीतिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विशेष अतिथिका रूपमा उपस्थित ब्रिज वाटर कलेजका भाइस प्रिन्सिपल विष्णुप्रसाद शर्माले विद्यार्थीहरूलाई करियर, उच्च शिक्षा तथा भविष्यको बाटो छनोटका विषयमा प्रेरणादायी सुझाव तथा मार्गदर्शन प्रदान गर्नुभयो। उहाँले विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र लक्ष्यअनुसार सही शैक्षिक तथा व्यावसायिक निर्णय लिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अवसरमा एकेडेमीको उन्नति तथा समाजमा पुर्‍याएको योगदानको कदर गर्दै अध्यक्ष ई. राजु कटुवालका पिता रामजी कटुवाल, काका मकरबहादुर तथा आमा दुर्गा कटुवाललाई विशेष सम्मान प्रदान गरिएको थियो। प्रमुख अतिथि धिरज राई, सभापति सान्त्वना महत, विशेष अतिथि राम प्रसाद तिमिल्सिना, अध्यक्ष ई. राजु कटुवाल, प्रमुख सल्लाहकार सोनित राज ढुङ्गेल तथा विशेष सल्लाहकार कञ्चन रायमाझीले संयुक्त रूपमा उहाँहरूलाई खादा तथा सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि धिरज राई तथा गायक वीरेन मालाकारले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै विद्यार्थी तथा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै, हास्य कलाकार राजेन्द्र गिरी तथा उनको टोलीको प्रहसनले कार्यक्रममा हास्यरस थपेको थियो।

एकेडेमीका प्रमुख सल्लाहकार सोनित राज ढुङ्गेलले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै उज्ज्वल भविष्यको शुभकामना दिनुभयो भने बिदाइ भएर जाने विद्यार्थीहरूलाई उच्च शिक्षा तथा जीवनको आगामी यात्राका लागि आवश्यक सुझाव र हौसला प्रदान गर्नुभयो।

अध्यक्ष ई. राजु कटुवालले ग्रान्ड वी क्यान एकेडेमीले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीको चौतर्फी विकासलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले आफ्ना अग्रज तथा अभिभावकलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, शिक्षक तथा विद्यार्थीप्रति आभार व्यक्त गर्नुभयो।

औपचारिक तथा अनौपचारिक गरी दुई चरणमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।


प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार गते

धेरै पढिएको

ताजा समाचार