काठमाडौँ, साउन २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग छिमेकी भारत र चीनका राजदूतले भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका लागि विस्तृत छलफल भएको बताइएको छ । प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदूत झाङ माओमिङले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो । भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकासमा साझेदारीका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री शाहले यसअघि कूटनीतिक अधिकारीलाई सामूहिक भेट गर्नुभएको थियो । यो भेटलाई प्रधानमन्त्री शाहले छिमेकीसँगको सम्बन्धलाई नेपालले प्राथमिकतामा राखेको अर्थमा विश्लेषण गरिएको छ ।
समकक्षीको सन्देश
प्रधानमन्त्री शाहसँगको भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले पहिलो पटक शिष्टाचार भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री शाहको भारत भ्रमणको चर्चा भइरहँदा भएको भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरूबिच द्विपक्षीय मित्रता, पारस्परिक हित, भावी विकास साझेदारी तथा सहकार्यलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्ने चाहना नेपालको रहेको धारणा राख्नुभएको थियो । राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबिचको आपसी सम्बन्ध र सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भारतका प्रधानमन्त्री मोदीको सन्देश प्रधानमन्त्री शाहलाई दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिनुभएको छ । ‘नेपालका प्रधानमन्त्रीसँग भेट गर्न पाउँदा खुसी लागेको र उहाँसमक्ष प्रधानमन्त्री मोदीको न्यानो अभिवादन पु¥याएको,’ उहाँले उल्लेख गर्नुभएको छ । उहाँले भारत र नेपालबिचको सुदृढ तथा बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा फलदायी र अर्थपूर्ण विचार विमर्श भएको पनि बताउनुभएको छ ।
साझेदारी विस्तारमा जोड
नेपालका लागि चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभयो । प्रधानमन्त्री शाहका प्रेसविज्ञ दाहालका अनुसार भेटवार्तामा नेपाल र चीनबिचको सम्बन्धलाई अझ सशक्त बनाउने विषयमा धारणा आदानप्रदान भएको छ । साथै दुई छिमेकी सम्बन्ध अझ सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारी अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने सोचमा सरकार रहेको बताउनुभयो । राजदूत झाङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबिचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालले भारतसँग मैत्रीपूर्ण साझेदारीसँगै व्यापार तथा आर्थिक सहकार्य, सम्पर्क सञ्जाल तथा ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुदलगायत जनस्तरीय सम्बन्धसँगै क्षेत्रीय सहकार्य हुँदै आएको छ । नेपाल र चीनको ऐतिहासिक, मैत्रीपूर्ण र बहुआयामिक सम्बन्धका आधारमा आर्थिक तथा विकास साझेदारीमा महत्वपूर्ण सहकार्य हुँदै आएको छ ।
प्रेस तथा अनुसन्धानविज्ञ दाहालले आवश्यकता अनुसार नियमित भेट गर्नुपर्ने भएकाले प्रधानमन्त्री शाहले नियमित भेटलाई आवश्यकता अनुसार अघि बढाउनुभएको बताउनुभयो ।

