केरौन सबस्टेशन परीक्षणका लागि शनिबार पूर्वका ४ जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध हुने


२२ साउन, काठमाडौं । शनिबार पूर्वी नेपालका चार जिल्लासहितका क्षेत्रमा १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेशनको उपकरण परीक्षण तथा सञ्चालन र दुहबी–दमक १३२ केभी प्रसारण लाइन निर्माण कार्यका कारण विद्युत् आपूर्ति अस्थायी रुपमा बन्द गर्न लागेको हो ।

प्राधिकरणका अनुसार साउन २३ गते शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । यस अवधिमा केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड–एन्ड टावर जडान गर्ने काम पनि सम्पन्न गरिनेछ ।

विद्युत् अवरोधका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्राविधिक कार्य सम्पन्न भएलगत्तै विद्युत् सेवा पुन: सञ्चालन गरिने जानकारी दिएको छ । निर्धारित समयभन्दा अगावै काम सकिएमा सोहीअनुसार विद्युत् आपूर्ति पनि समयअघि नै सुचारु गरिने जनाइएको छ ।

विद्युत् अवरोधबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै सहयोग र समझदारीका लागि आग्रह गरेको छ ।


प्रकाशित मिति : २०८३ श्रावण २२, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार