काठमाडौँ । आज अर्थात् २०८३ साल असार ३२ गते (सन् २०२६ जुलाई १६ तारिख) बिहीबार दिउँसो १२ बजेर ५५ मिनेटदेखि बृहस्पति ग्रह पश्चिममा अस्त हुँदैछ । आजबाट अस्त हुने बृहस्पति आगामी साउन २४ गते (सन् २०२६ अगस्ट ९ तारिख) आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा पूर्वमा उदय हुनेछ । सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा आउँदा बृहस्पति ग्रह अस्त हुने गर्दछ ।
अस्त भएको समयमा यस ग्रहले दिने फल कमजोर हुने र पूर्ण रूपमा निष्क्रिय मानिने ज्योतिषीय मान्यता रहेको छ । बृहस्पति ग्रहलाई ज्ञान, धर्म, विवाह, सन्तान र शुभ कार्यको प्रमुख कारक मानिने भएकाले यो अस्त हुँदा यसको शुभ प्रभाव पृथ्वीमा कम आउने विश्वास गरिन्छ ।
बृहस्पति अस्त भएको समयमा नित्य र नैमित्तिक कर्महरू गर्न शास्त्रीय रूपमा कुनै बाधा पर्दैन । यस अवधिमा नियमित रूपमा गरिने स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्यव्रत, तुलसीपूजा एवं विवाह, तुलसीको मठमा हवन, रामनवमी आदिको व्रतजस्ता अर्को विकल्प नभएका नित्य कर्महरू गर्न सकिन्छ। त्यसै गरी श्राद्ध, तर्पण, आशौच, मृतकको क्रिया, ग्रहणस्नानादि जस्ता नैमित्तिक कर्महरू पनि गर्न मिल्छ । यसैबिच आगामी साउन ९ गते तुलसी रोप्ने दिन (हरिशयनी एकादशी व्रत) र सोही दिनबाट सुरु हुने चतुर्मासव्रतका कार्यहरू गर्न कुनै बाधा पर्ने छैन ।
अर्कोतर्फ, मुहूर्त चिन्तामणि, निर्णयसिन्धु तथा अन्य मुहूर्त सम्बन्धी ग्रन्थहरूका अनुसार बृहस्पति अस्त भएको समयमा केही विशेष शुभ कार्यहरू गर्न निषेध गरिएको छ। यस अवधिमा इनार, बगैँचा, तलाउ वा कुवा निर्माण गर्नु, गृहआरम्भ वा गृहप्रवेश गर्नु, मन्दिर आदि निर्माण गर्नु, देवता स्थापना तथा प्राणप्रतिष्ठा गर्नु र चान्द्रायणादि व्रतको आरम्भ तथा उद्यापन गर्नु हुँदैन ।
त्यसै गरी वधुप्रवेश, तुलादानादि महादान, सोमयाग, अष्टकाश्राद्ध, आग्रायणेष्टि, जलशाला निर्माण, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, चूडा ९छेवर०, व्रतबन्ध, विवाह, कहिल्यै नगरिएको देवताको दर्शन र कहिल्यै नगएको तीर्थयात्रा जस्ता कार्यहरू वर्जित मानिएका छन् । यसबाहेक अग्निहोत्र, संन्यासव्रत, चतुर्मास्ययाग, प्रथम राजदर्शन, राज्याभिषेक, समावर्तन र कर्णवेध (कान छेड्ने) जस्ता शुभ कार्यहरू पनि यो अवधिमा गर्न नहुने शास्त्रीय मान्यता रहेको छ ।

