आरसिबीद्वारा आइपिएलमा मुम्बई इन्डियन्स १८ रनले पराजित


रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।

वानखेडे स्टेडियममा आइतबार राति भएको खेलमा आरसिबीले उत्कृष्ट ब्याटिङ र सन्तुलित बलिङको प्रदर्शन गर्दै महत्वपूर्ण जित निकालेको हो।

पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४० रनको विशाल योगफल तयार पार्यो। टोलीको ठूलो स्कोर बनाउन फिल साल्ट र रजत पाटिदारले महत्वपूर्ण योगदान गरे ।

साल्टले ३६ बलमा समान ६ छक्का र चौकासहित ७८ रन बनाए। त्यसपछि ब्याटिङ गरेका पाटिदारले २० बलमा ५ छक्का र ४ चौकासहित ५३ रनको आक्रामक इनिङ्स खेले।

त्यसअघि विराट कोहलीले ३८ बलमा ५० रन बनाएर टोलीलाई मजबुत सुरुआत दिलाए। साल्ट र कोहलीले पहिलो विकेटका लागि १०.५ ओभरमा १ सय २० रनको सानदार साझेदारी गरे।

साल्ट र पाटिदारले छक्का र चौकाको वर्षा गर्दै मुम्बईका बलरमाथि दबाब बनाएका थिए। टिम डेभिडले नटआउट ३४ रन जोडे ।
मुम्बई ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, मिचेल सान्टनर र सार्दुल ठाकुरले समान १ विकेट लिए।

२ सय ४१ रनको लक्ष्य पछ्याएको मुम्बईले पनि राम्रो सुरुआत गरे पनि अन्तिमसम्म गति कायम राख्न सकेन। टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि शेरफेन रदरफोर्डले ३१ बलमा ९ छक्का र १ चौकासहित अविजित ७१ रन बनाए।

हार्दिकले २२ बलमा ६ चौका र १ छक्कासहित ४० रन जोडे। सूर्य कुमार यादवले २२ बलमा ३३, ओपनर रायन रिकेल्टनले २२ बलमा ३७ रन बनाए । अर्का ओपनर रोहित शर्मा १९ रनमा रिटायर्ड हर्ट भए ।

बलिङतर्फ आरसिबीका स्पिनरहरू प्रभावकारी देखिए। सुयश शर्माले महत्वपूर्ण २ विकेट लिए भने क्रुणाल पाण्ड्याले पनि किफायती बलिङ गर्दै मुम्बईलाई दबाबमा राखे।


प्रकाशित मिति : २०८२ चैत्र ३०, सोमबार गते

धेरै पढिएको

ताजा समाचार