सकियो ‘माया भनेकै यस्तो होला’ को छायांकन


रेखा थापाको निर्देशनमा फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सकिएको छ। फागुन २५ गते सुरू गरिएको छायांकन २८ औं दिनमा सकिएको निर्माण टिमले जानकारी दिएको छ।

फिल्म ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो।

यसपटक रेखा अभिनयभन्दा निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित रहेकी छन्। साथै, उनले आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर रहेर चलचित्र निर्देशन गरेकी हुन्।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित कलाकारहरूको जम्बो टोली रहेको छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ। विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ। यसरी फिल्ममा एकसाथ चार मिस नेपाल समेटिएका छन्। फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको समेत अभिनय छ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस फिल्मले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ।


प्रकाशित मिति : २०८२ चैत्र २५, बुधबार गते

धेरै पढिएको

ताजा समाचार