न्युक्यासलसँग चेल्सी पराजित : चेल्सीको च्याम्पियन्स लिग पुग्ने आशामा धक्का


एजेन्सी – एन्थोनी गर्डनको गोलमा न्युक्यासल युनाइटेडले चेल्सीलाई १-० ले हराएको छ। यो नतिजाले चेल्सीको च्याम्पियन्स लिग पुग्ने आशामा धक्का लागेको छ।

स्टामफोर्ड ब्रिजमा भएको खेलको १८औँ मिनेटमा गर्डनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए। टिनो लिभ्रामेन्टोले राम्रो आक्रमण बनाउँदै जो विलोकलाई पास दिए। विलोकको पासमा गर्डनले सहज गोल गरे।

खेलमा चेल्सीले बराबरी गर्ने केही अवसर पाए पनि सफल हुन सकेन। कोल पाल्मरले पेनाल्टीको अपिल गरे पनि रेफ्रीले अस्वीकार गरे। मार्क कुकुरेलाको ह्यान्डबलको दाबी पनि स्विकार भएन ।

अन्तिम समयमा लियाम डेलापले राम्रो मौका पाए पनि गोल गर्न सकेनन्। चेल्सीका कप्तान रिस जेम्सको उत्कृष्ट फ्रिकिक भने पोस्टमा लागेर बाहिरियो।

म्यानचेस्टर सिटीको उपाधि दौडमा धक्का

म्यानचेस्टर सिटी प्रिमियर लिगमा वेस्ट ह्यामसँग १-१ को बराबरीमा रोकिएको छ। यो नतिजासँगै सिटी शीर्षस्थानको आर्सनलभन्दा ९ अंकले पछि परेको छ।

लण्डन स्टेडियममा भएको खेलमा सिटीले ३१औँ मिनेटमा अग्रता लिएको थियो। कप्तान बेर्नार्डो सिल्भाले गोल गरे।

तर वेस्ट ह्यामले ४ मिनेटमै खेल बराबरी गर्‍यो। जारोड बोवेनको कर्नरमा कन्स्टान्टिनोस माभ्रोपानोसले हेडरमार्फत गोल गरे।

दोस्रो हाफमा सिटीले केही राम्रो अवसर पाए पनि गोल गर्न सकेन। एर्लिङ हालान्डको प्रहारलाई वेस्ट ह्यामका गोलकिपर म्याड्स हेर्मान्सनले रोके ।

अन्तिम समयमा सिटीले आक्रमण बढाए पनि गोल निस्कन सकेन र खेल बराबरीमा सकियो।

यो बराबरीसँगै वेस्ट ह्याम भने डिसेम्बरपछि पहिलो पटक रेलिगेसन क्षेत्रबाट बाहिर निस्किएको छ।  नटिङ्घम फरेस्ट भने रेलिगेसन क्षेत्रमा झरेको छ।

आर्सनलको जितमा डाउमनको कीर्तिमान

१६ वर्षका म्याक्स डाउमनले प्रिमियर लिग इतिहासकै सबैभन्दा कान्छो गोलकर्ता बन्ने कीर्तिमान बनाएका छन्। डाउमनको पनि गोलको मद्दतमा आर्सनलले एभर्टनलाई २-० ले हराएको छ।

खेल बराबरीतर्फ जाँदै गरेको अवस्थामा आर्सनलले अन्तिम समयमा गोल गर्दै जित निकाल्यो। खेलको ८९औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले डाउमनको क्रस  अनुमान गर्न नसक्दा ग्योकेरेसले नजिकैबाट गोल गरे।

एभर्टनले इन्जुरी समयमा कर्नर पायो। त्यसक्रममा गोलकिपर पिकफोर्ड समेत आक्रमणमा अघि बढे।
तर पिकफोर्ड पोस्टबाट बाहिर रहेको मौका पारेर डाउमनले दुई रक्षकलाई छक्याउँदै खाली पोस्टमा गोल गरे ।

१६ वर्ष ७३ दिनका डाउमनले गोल गर्दै प्रिमियर लिगको सबैभन्दा कान्छो गोलकर्ताको कीर्तिमान बनाए। यसअघि यो कीर्तिमान एभर्टनका जेम्स भोनको नाममा थियो।


प्रकाशित मिति : २०८२ चैत्र १, आईतवार गते

धेरै पढिएको

ताजा समाचार