काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढ्यो


काठमाडाैँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो छ भने घाम राम्रोसँग लाग्न सकेको छैन ।

बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ । दृश्य क्षमता घटेका कारण यातायात सञ्चालन र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ । हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहज महशुस गरेका छन् ।

वातावरण विभागकाअनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ । लामो समयदेखि हिउँदे वर्षा नभएको र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावाको माध्यमबाट उपत्यकामा भित्रिएका कारण प्रदूषण ह्वात्तै बढेको मौसमविद्हरूले बताएका छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रूपमा गुणस्तरीय मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।

तत्काल ठूलो वर्षा हुने वा तीव्र हावा चल्ने सम्भावना कम रहेकाले आगामी केही दिनसम्म प्रदूषणको यो अवस्था कायमै रहन सक्ने अनुमान गरिएको छ । सम्बन्धित निकायले अनावश्यक रूपमा सवारी साधन नचलाउन र फोहोर नजलाउन सर्वसाधारणलाई अपिल गरेको छ । —न्युज एजेन्सी नेपाल


प्रकाशित मिति : २०८२ फाल्गुन २५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार