क्वालालम्पुर । मलेसियाको क्वालालम्पुरमा ‘ग्लोबल एबाकस एन्ड वेदिक म्याथ्स २०२६’ सम्पन्न भएको छ। फेब्रुअरी २६ मा आयोजित अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाल, भारत, मलेसिया लगायतका देशका प्रतिभाशाली विद्यार्थीहरूको सहभागिता रहेको थियो।
उक्त कार्यक्रम साउथ एसियन डेभलपमेन्ट बैंक लिमिटेड (बेलायत), रे फाउन्डेसन (भारत), प्यासिफिक अलायन्स ग्रुप (मलेसिया), बाल विकास एनसीएमएएस प्रालि (नेपाल), रेज एबाकस (भारत) र गुरुश्री एबाकस एन्ड वेदिक म्याथ्स (भारत) को संयुक्त आयोजनामा भएको हो। कार्यक्रमलाई ‘भ्वाइस अफ एसिया इन्टरनेसनल न्युज’ले मिडिया सपोर्ट गरेको थियो।
साउथ एसियन डेभलपमेन्ट बैंक (एसएडीबी) का अध्यक्ष डा. जरिफ मेननको सभापतित्वमा सम्पन्न कार्यक्रममा मलेसिया बिजनेस चेम्बर भियतनामका पूर्व अध्यक्ष दातुक डा. एम. सिमी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, भ्वाइस एसिया न्युजका प्रधान सम्पादक कौशल कुमार, एएमएसका प्रबन्ध निर्देशक अज्जा रहमान, पीएआईसीका प्रबन्ध निर्देशक लेस्ली चार्ल्स अल्बुकर्क, बाल विकास एनसीएमएएस प्रालि नेपालका संस्थापक तथा सीईओ तेजु नेपाल, सनसाइन एजुकेसनल ग्रुप मलेसियाका संस्थापक डा. आर.भी. श्याम प्रसाद लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. जरिफ मेननले जटिल गणितीय समस्याहरू समाधान गर्न विद्यार्थीहरूले देखाएको गति, एकाग्रता र शुद्धताको खुलेर प्रशंसा गरे।
क्याल्कुलेटर र डिजिटल उपकरणलाई समेत उछिन्न सक्ने विद्यार्थीहरूको क्षमताले आफूलाई प्रभावित पारेको उनले बताए। औपचारिक भाषण सुन्नुभन्दा मानसिक गणित समाधान गर्न विद्यार्थीहरूले देखाएको उत्साहले उनीहरूको लगनशीलता र अनुशासनलाई झल्काएको उनको भनाइ थियो। एबाकस शिक्षाले गणितीय क्षमता र एकाग्रता दुवै बढाउने बताउँदै डा. मेननले आगामी दिनमा थप देशहरूलाई समेटेर यस्ता कार्यक्रम आयोजना गर्ने जानकारी दिए।
अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एबाकस र वैदिक गणित विधिहरूमार्फत विद्यार्थीहरूको गति, एकाग्रता र विश्लेषणात्मक क्षमताको मूल्याङ्कन गर्न विभिन्न विधा र तहमा प्रतिस्पर्धा गराइएको थियो। जसमा नेपाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा प्रथम स्थान हासिल गरेका छन्।

प्रतियोगिताको जेड–१ लेभलमा नेपालको केजीएस स्कुलका वाचस्पति ढकालले प्रथम स्थान हासिल गरे भने जेड–२ए लेभलमा हिमश्रृंखला एकेडेमीका कृष्ण तामाङ प्रथम भए। यसैगरी, जेड–२बी लेभलमा हिमश्रृंखला एकेडेमीकै रचना तामाङ, एक्स–१ लेभलमा संस्कार शिक्षालयका पृथक राई र एक्स–२ लेभलमा बाल बाटिका पाठशालाका कृषिव गिरीले प्रथम स्थान ओगट्न सफल भए।
त्यस्तै, एक्स–३ए लेभलमा नोबेल स्कुलका अविन आलेमगर, एक्स–३बी लेभलमा पाथीभरा एकेडेमीका यसिमन लामा, वाई–१ लेभलमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका अवन महर्जन र वाई–२ लेभलमा सभ्यता पाठशालाका सनिप अधिकारीले आ–आफ्नो विधामा पहिलो स्थान सुरक्षित गरे ।
उता, भारतीय विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याएका छन्। भारतको गुरुश्री एजुकेसन एकेडेमीका स्वरन्जिल सन्तोष जाधव वाई–३ लेभलमा प्रथम भए भने वैदिक म्याथ्स च्याम्पियनसिप विधामा भारतकै गुरुश्री एबाकस एन्ड वैदिक म्याथ्सकी विभिका हिरानीले प्रथम स्थान हासिल गरिन् ।
यस च्याम्पियनसिपको सफल समापनले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई थप बलियो बनाएको आयोजकको भनाइ छ ।

