मोरङ प्रहरीले निर्वाचन प्रचारमा हिँडेको एउटा गाडी पैसासहित नियन्त्रणमा लिएको छ।
कांग्रेस कार्यकर्ता चढेको गाडीमा साढे ४ लाख रूपैयाँ भेटिएपछि उक्त गाडी छानबिनका लागि पैसा र गाडी निर्वाचन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवलाले जानकारी दिए।
रतुवामाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले उक्त गाडी रोकेर प्रहरीलाई खबर गरिदिएका थिए।
‘प्रहरीलाई खबर भयो, उहाँहरूले पैसा बाँडेको भन्नुभएको थियो। तर हामी जाँदा गाडी चोकमा भेटिएको थियो,’ उनले भने, ‘गाडीभित्र कांग्रेसका प्रचार सामग्री र ४ लाख ४९ हजार भेटिएको छ।’
रकमको धनी र स्रोतबारे सोधेपछि चालकले आफू व्यवसायी भएको र उक्त रकम आफ्नै भएको बताएको पनि एसपी कटवालले जानकारी दिए।
प्रहरीले उक्त पैसा र गाडीसहित तीन जनालाई नियन्त्रणमा लिइएको थियो।
पछि सोधपुछ गरी तीनै जनालाई छाडिएको छ। प्रहरीले छानबिन गर्न मोरङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा बुझाएको पनि उनले बताए।
‘हामीले उहाँहरूलाई बुझाएका छौं। यस विषयमा उहाँहरूले छानबिन प्रक्रिया अघि बढाउनुभएको छ,’ उनले भने।
निर्वाचन अधिकृत रूद्र आचार्यले त्यसबारे जानकारी प्राप्त भएको र आफूसमक्ष आएपछि थप प्रक्रिया अघि बढाउने बताए।
मोरङ-२ मा कांग्रेसबाट मिनेन्द्र रिजाल उम्मेदवार छन्। यहाँ एमालेबाट दिलिपकुमार अग्रवाल, नेकपाबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्ण कुमार कार्की उम्मेदवार छन्।

