संयुक्त राज्य अमेरिका र इसराइलको आक्रमणबाट इरानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ।
इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएकाले कम्तिमा १३३ जना मारिएको र २०० भन्दा बढी घाइते भएको जनाएको छ।
आक्रमणमा ८ जना सैन्य अधिकारी पनि मारिएको उक्त समाचार संस्थालाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने पनि बताइएको छ।
यसअघि इरानको सरकारी टेलिभिजन प्रेस टिभीले २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको रिपोर्ट सार्वजनिक गरेको थियो।
अमेरिका र इसराइलले इरानका २४ प्रान्तहरूका विभिन्न स्थानमा लक्ष्य गरेर हमला गरेको थियो।
हमलामा इरानका उच्च अधिकारी र सैन्य संरचनालाई मात्रै लक्ष्य गरिएको भन्ने अमेरिका र इसराइलको दाबी छ।
सर्वोच्च नेता मारिएको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएको दाबी गरेका छन्।
अमेरिका र इसराइलले शनिबार इरानमा गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता मारिएको ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा पोस्ट गर्दै दाबी गरेका हुन्।
खामेनीको मृत्युको दाबीमा उनले इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक मारिएको भनेका छन्।
उनले खामेनीको मृत्यु इरानी जनता, अमेरिका र विश्वभरका लागि न्याय भएको पनि बताएका छन्।
ट्रम्पले इरानका अन्य उच्च तहका शासन प्रमुखहरू पनि मारिएको दाबी गरेका छन्।
इसराइली स्रोतहरूले पनि शनिबार नै खामेनी र अन्य वरिष्ठ इरानी अधिकारीहरू मारिएको निष्कर्ष निकालेको थियो। यद्यपि इरानी पक्षबाट औपचारिक पुष्टि भएको छैन।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शनिबार बेलुकी एनबिसी न्युजलाई दिएको अन्तर्वार्तामा सर्वोच्च नेता खामेनी र राष्ट्रपति मशुद पेजिस्कियन लगायतका धेरै उच्च अधिकारीहरू सुरक्षित रहेको भनेका थिए।
ट्रम्पले इरानमा हमलापछि जारी गरेको भिडिओ सन्देशमा इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिने अहिले सबैभन्दा उचित समय भएको भन्दै आह्वान गरेका थिए।

