काठमाडौंमा मनाइयो १८औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस


स्पाइनल इन्जरीसँग सम्बन्धित अधिकार र पहुँचको मुद्दालाई केन्द्रमा राख्दै १८औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस काठमाडौंमा मनाइएको छ।

स्पाइनल इन्जरी संघ नेपालका कार्यकारी निर्देशक इशा थापाका अनुसार उक्त दिवस भृकुटीमण्डप मा विशेष कार्यक्रमसहित मनाइएको हो। नेपालमा यो दिवस २०६८ सालदेखि निरन्तर रूपमा मनाउँदै आएको संघले जनाएको छ।

यस वर्षको मूल नारा ‘ह्विल चियर पहुँचयुक्त नेपाल, स्वतन्त्र जीवन र समानता हाम्रो अधिकार’ रहेको छ। संघका अनुसार पहुँचयुक्त (एक्सेसिबिलिटी) नेपाल निर्माण गर्नु नै यस अभियानको प्रमुख उद्देश्य हो। संरचनागत सुधार मात्र नभई समाजको सोच र दृष्टिकोणलाई समेत पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रममा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै साझा अभियानका रूपमा दिवस मनाइएको आयोजकले जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न संस्थाबाट सहभागीहरू उपस्थित भएका थिए। करिब २७० जनाको सहभागिता रहेको कार्यक्रममा र्‍याली पनि आयोजना गरिएको थियो।

र्‍याली भृकुटीमण्डपबाट सुरू भई टुँडिखेल परिक्रमा गरिएको थियो।

संघका अनुसार आगामी दिनमा सातै प्रदेशमा रहेका प्रयोगकर्तालाई सहभागी गराउँदै प्रदेशस्तरमै दिवस मनाउने योजना छ।

सातै प्रदेशका सार्वजनिक स्थल र संरचनालाई पहुँचयुक्त बनाउने लक्ष्यका साथ अभियानलाई विस्तार गर्ने तयारी गरिएको छ। संघले नेपालमा पहुँच र अपाङ्गता सम्बन्धी पर्याप्त अध्ययन तथा अनुसन्धान भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उल्लेख गरेको छ। उपलब्ध अनुसन्धानलाई व्यवहारमा लागू गर्न सके पहुँचयुक्त नेपाल निर्माणको अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित मिति : २०८२ फाल्गुन १७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार