विद्यालयको पोसाक, एउटा आदेश र देशको दिशा बदलिएको दिन, बीबीसीको‌ डकुमेन्ट्रीले जन्माएको नयाँ वहस


काठमाडौं– काठमाडौंको आकाश त्यो दिन असामान्य रूपमा धुम्म थियो । माइतीघर मण्डलामा बिहानैदेखि युवाहरू जम्मा हुँदै थिए–हातमा ब्यानर, मोबाइलमा लाइभ स्ट्रिम अनि मनमा वर्षौंदेखि थुप्रिएको आक्रोश । सामाजिक सञ्जालमा हुर्किएको एक पुस्ता सडकमा उत्रिएको थियो

केही समयपछि त्यो भिड नयाँ वानेश्वर आइपुग्यो । त्यही भीडमा १७ वर्षीय श्रीयम चौलागाईँ पनि थिए । प्लस टु कलेजको यूनिफर्म, काँधमा झोला । घरबाट निस्कँदा आमाले सम्झाइन्– ‘आन्दोलनमा जे पनि हुन सक्छ ।’ उनले हाँसेर भनेका थिए– ‘हामी त विद्यार्थी हौँ, हामीलाई केही गर्दैनन् ।’

दिउँसो १२ः३० बजेतिर कर्फ्यु घोषणा भयो । नयाँ वानेश्वरस्थित संसद भवन वरिपरि धुवाँ, अश्रुग्यास र भागदौड । कमाण्ड सेन्टरमा बसेका अधिकारीहरूलाई स्पष्ट तस्वीर थिएन– सीसीटीभी फिड अस्थिर, भीड अनुमानभन्दा धेरै ठूलो । त्यसबीच एउटा कल साइन गुञ्जियो– ‘पिटर वान’। चुहिएको प्रहरी लगअनुसार, आदेश आयो– ‘आवश्यक बल प्रयोग गर्नु ।’

यो दावीलाई उजागर गरेको थियो बीबीसी वर्ल्ड सर्भिस अन्तर्गतको बीबीसी आई इन्भेस्टिगेशन्सले । उनीहरूले गत भदौ २३ गते दिनलाई टाइमलाइन, भिडियो प्रमाण तथा आन्तरिक कागजातमार्फत पुनर्निर्माण गरेर एउटा डकुमेन्ट्री तयार पारेका छन्– गाली चल्नु अघि के–के भयो ?

दिउँसो २ः०९ बजे । भिडियोमा श्रीयम भीडको अग्रपंक्तिबाट टाढा जाँदै देखिन्छन् । उनी ताली बजाउँदै, झोला बोकेर शान्त रूपमा हिँडिरहेका छन् । एक्कासी गोलीको आवाज । टाउकोको पछाडि लागेको गोलीले उनी ढल्छन् । स्कुलको पोसाक रगतले भिज्छ ।

त्यो दिन १९ जनाको ज्यान गयो । देश आक्रोशले बल्यो । भोलिपल्टै प्रधानमन्त्री केपी शर्माओलीले राजीनामा दिए । सडकमा आगो बलिरहँदा सत्ता ढल्यो । तर प्रश्न अझै बाँकी छ– गोली चलाउने अन्तिम निर्णय कसले गर्यो ? तत्कालीन आईजीपी चन्द्र कुवेर खापुङले आदेश दिएको अस्वीकार गरेका छैनन्, तर प्रक्रिया कानुनअनुसार भएको दावी गर्छन् । छानबिन जारी छ, प्रतिवेदन प्रतीक्षामा ।

श्रीयमकी आमालाई भने राजनीति होइन, केवल छोराको खाली कोठा देखिन्छ । उनी भन्छिन्– ‘मलाई अझै ऊ फर्किन्छ जस्तो लाग्छ–स्कुलको पोसाकमै, झोला हल्लाउँदै ।’

भदौ २३ गते केवल एउटा प्रदर्शन थिएन । त्यो दिन एक पुस्ताको निराशा, एउटा आदेश र राज्यको शक्ति एकै ठाउँमा ठोक्किएको दिन थियो र जसले देशको राजनीतिक दिशा नै बदलिदियो ।

बीबीसीको‌ डकुमेन्ट्रीले जन्माएको नयाँ वहस

वास्तवमा बिहीवार बीबीसी वर्ल्ड सर्भिसले सार्वजनिक गरेको नेपालमा गत भदौ २३–२४ गते मा भएको जेन–जी आन्दोलन बारेको ४१ मिनेट लामो डकुमेन्ट्रीले देश तथा विदेशमा समेत नयाँ वहस जन्माएको छ ।

दुई दिनको घटनाक्रम, दुर्लभ भिडियो फुटेज तथा केही दावीमा आधारित सूचनासहितको प्रस्तुतिले खासगरी गोली चलाउने आदेश, कमाण्ड संरचना तथा आन्दोलनको चरित्रबारे फरक–फरक दृष्टिकोण उभ्याएको छ ।

घटनाक्रमस् आक्रमण, बल प्रयोग र १९ जनाको मृत्यु

भदौ २३ गतेको प्रदर्शनका क्रममा १९ जना युवाको गोली लागेर मृत्यु भएको थियो । डकुमेन्ट्रीमा प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेट तोड्दै संसद भवनतर्फ अघि बढेको, पर्खाल भत्काउने तथा गेटमा आगजनी गरेको दृश्य देखाइएको छ । त्यसपछि प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रयोग गरेको, तर भिड नहट्दा अन्ततः गोली चलेको विवरण प्रस्तुत गरिएको छ ।

गोली लागेकामध्ये १७ वर्षीय श्रीयम चौलागाईंलाई डकुमेन्ट्रीले विशेष फोकसमा राखेको छ । उनका आमा–बुबासँगको अन्तर्वार्ता र गोली लाग्नु अघिरपछिका फुटेज समावेश गर्दै उनी अग्रपंक्तिमा नरहे पनि मुठभेडबाट जोगिन खोज्दा ढलेको देखाइएको छ । यसले ‘लक्षित बल प्रयोग’ विरुद्ध ‘भीड नियन्त्रणको असफलता’ भन्ने वहसलाई तीव्र बनाएको छ ।

आदेशको प्रश्न: ‘पिटर १’ र कमाण्ड चेन

डकुमेन्ट्रीले प्रहरी ‘लग’ को हवाला दिँदै कलसाइन ‘पिटर १’ बाट गोली चलाउने आदेश आएको दावी गरेको‌ छ । रिपोर्टअनुसार फिल्डमा रहेका प्रहरीले बारम्बार निर्देशन मागेपछि कलसाइनबाट ‘कर्फ्यु लागू भइसकेको छ, अनुमति लिन आवश्यक छैन, आवश्यक बल प्रयोग गर्नु’ भन्ने सन्देश गएको उल्लेख छ ।

यस सन्दर्भमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई मुख्य जिम्मेवारका रूपमा चित्रित गरिएको छ । यद्यपि, राजनीतिक नेतृत्वको भूमिकाबारे डकुमेन्ट्री मौन देखिन्छ– जसले ‘प्रशासनिक जिम्मेवारी’ र ‘राजनीतिक उत्तरदायित्व’ बीचको सन्तुलनबारे प्रश्न उठाएको छ ।

आन्दोलनको प्रस्तुति: नेतृत्व र छायाँ पक्ष

रिपोर्टमा जेन–जी अभियन्ता रक्षा बमलाई आन्दोलनको कमाण्ड सम्हाले झैँ गरी प्रस्तुत गरिएको छ । उनले आन्दोलन हिंसात्मक नहुने बताएका भाषण समेटिए पनि जलिरहेको सिंहदरबारअगाडि उभिएको विवादित दृश्य समावेश नगरिएको भन्दै आलोचना भइरहेको छ । यसले सम्पादनको चयनात्मकता र कथानक निर्माणबारे वहस बढाएको छ ।

प्रहरीको आपत्ति– ‘संवाद आधिकारिक होइन’

यसैबीच, नेपाल प्रहरीले डकुमेन्ट्रीप्रति असहमति जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार रिपोर्टमा उल्लेखित कलसाइन संवाद आधिकारिक होइनन् । ‘डकुमेन्ट्रीमै विभिन्न फुटेजका आधारमा संकलन गरिएको भनिएको छ भने त्यसको आधिकारिकता कसरी हुन्छ रु’ भन्ने उनको प्रश्न छ ।

प्रहरीले यसअघि पत्रकार सम्मेलनमार्फत उपलब्ध तथ्य सार्वजनिक गरिसकेको दावी गर्दै थप जानकारी आवश्यक परे संस्थागत रूपमा दिन तयार रहेको जनाएको छ । कलसाइन सार्वजनिक रूपमा परिचित हुने भएकाले त्यसको उल्लेख मात्रले कुनै रिपोर्टलाई आधिकारिक ठहर गर्न नसकिने प्रहरीको तर्क छ ।

उब्जिएको वहस– पारदर्शिता, प्रमाण र उत्तरदायित्व

डकुमेन्ट्रीपछि तीन तहमा वहस चर्किएको छ

बल प्रयोगको वैधता र अनुपात: भीड नियन्त्रणमा ‘आवश्यक बल’ को परिभाषा र प्रयोगको सीमा के थियो ?

कमाण्ड उत्तरदायित्व: फिल्ड निर्णय विरुद्ध उच्च तहको आदेश९जिम्मेवारी कसरी निर्धारण गर्ने ?

मिडिया प्रस्तुति: सम्पादन, स्रोत र सन्दर्भको सन्तुलन कति निष्पक्ष छ ?

घटनाले कानुनी छानविन, मानवअधिकार मापदण्ड र सार्वजनिक पारदर्शिताबारे नयाँ प्रश्न उठाएको छ । डकुमेन्ट्रीले पीडित परिवारको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याएको छ भने प्रहरी पक्षले आधिकारिक तथ्य र सन्दर्भलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

यसबीच, जेन–जी आन्दोलनका पीडित परिवार, अभियन्ता र सुरक्षा निकायबीच सत्य–तथ्यको साझा आधार निर्माण गर्ने माग बलियो बन्दै गएको छ । सार्वजनिक विश्वास पुनःस्थापित गर्न स्वतन्त्र र विश्वसनीय छानविनको आवश्यकता औंल्याइँदै आएको छ ।

 


प्रकाशित मिति : २०८२ फाल्गुन १५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार