हेटौँडामा हिट एन्ड रन : अज्ञात सवारीले मोटरसाइकलाई ठक्कर दिँदा दुई युवकको मृत्यु


मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र सोही ठाउँका १८ वर्षीय अमोश थिङ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधन र त्यसका चालक दुर्घटना लगत्तै फरार भएका छन् । प्रहरीले फरार सवारीको पहिचानका लागि घटनास्थल आसपासका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ ।

फरार चालकको खोजी तीव्र पारिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक कानुनी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति : २०८२ फाल्गुन १३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार