नवलपुरमा दुई हजार ५६ निर्वाचन कर्मचारी खटाइँदै


मध्यविन्दु, फागुन १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत नवलपुरमा दुई हजार ५६ जना कर्मचारी खटाइँदै छन् । निर्वाचन खटिने कर्मचारीहरूको नामावली मङ्गलबार प्रकाशित गरिएको छ ।

यहाँ दुई निर्वाचन क्षेत्र छन्, जसका लागि दुई हजार ५६ जना कर्मचारी खट्दै छन् । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले १० प्रतिशत जगेडा राखी एक हजार आठ सय ६९ जना कर्मचारीलाई निर्वाचनमा खटाइने जानकारी दिनुभयो ।

जिल्लामा एउटा अस्थायी मतदान केन्द्रसहित तीन सय १२ वटा मतदान केन्द्र रहेका छन् । पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा आठ जना र पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा सात जनाका दरले कर्मचारीहरू खटिने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । १८ गतेसम्म सबै निर्वाचन कर्मचारीहरू आफ्नो मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुग्ने उहाँले बताउनुभयो ।

निर्वाचनमा खटिने मतदान अधिकृतहरूका लागि यही १४ र १५ गते तालिम सञ्चालन गरिनेछ ।

सुरक्षा व्यवस्थामा कडाइ
प्रजिअ पाण्डेका अनुसार निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । अहिले टोलटोल र चोकचोकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटाइएको छ । मोबाइल फोर्स, पैदल गस्ती, सादा पोशाकमा गस्ती लगायतका गतिविधिलाई तीव्र पारिएको छ ।

चारै तहको सुरक्षा घेरामा निर्वाचन स्थलको सुरक्षा गरिने प्रजिअ पाण्डेले बताउनुभयो । सुरक्षित वातावरण महसुस गराउनका लागि विकट ठाउँहरूमा ‘स्ट्राइकिङ फोर्स’ रहनेछ । यदि कुनै मतदान केन्द्रमा घटना घटेमा छिटोभन्दा छिटो पुग्न सक्नेगरी व्यवस्थापन मिलाइएको प्रजिअ पाण्डेले बताउनुभयो ।

निर्वाचन सामग्री सबै आइपुग्यो
जिल्लामा निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लाल प्रसाद शर्मा भुसालले जानकारी दिनुभयो । मतपत्र र मतपेटिकासहितका सबै आवश्यक सामग्री जिल्लामा आइपुगेको उहाँले बताउनुभयो ।
जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिकतर्फ एक लाख ५४ हजार र प्रत्यक्षतर्फ एक लाख ४७ हजार मतपत्र आएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा समानुपातिकतर्फ एक लाख ४१ हजार र प्रत्यक्षतर्फ एक लाख ४१ हजार मतपत्र प्राप्त भएको भुसालले जानकारी दिनुभयो ।

२५ जना उम्मेदवारले खोले बैंक खाता
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नवलपुरमा हालसम्म २५ जना उम्मेदवारले मात्रै निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता खोलेका छन् ।

दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ३४ जना उम्मेदवारमध्ये २५ जनाले बैंक खाता खोलेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुसालले जानकारी दिनुभयो । अब नौ जनाले खाता खोल्न बाँकी रहेको उहाँले बताउनुभयो ।


प्रकाशित मिति : २०८२ फाल्गुन १३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार