काठमाडौं । मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘सीमाभन्दा परका कथाहरू ः जहाँ संस्कृति र सिनेमाको भेट हुन्छ’ भन्ने नारासहित फागुन ८ गतेदेखि महोत्सव सुरु भएको थियो ।
संवाद फाउन्डेसनद्वारा आयोजित चारदिने महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन गरिएका थिए ।
समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट फिल्मलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय प्यानोरमा अन्तर्गत डेभिड कासाल्स रोमाको ‘कप्स’ उत्कृष्ट लघु कथानक चलचित्र घोषित भयो भने शेख अल मामुनको ‘ड्रेन्ड बाई ड्रीम्स’ उत्कृष्ट फिचर कथानक फिल्म बन्यो ।
रोस्ताम नजरिको ‘साइद क्यापिलो’ उत्कृष्ट लघु वृत्तचित्र, रिंकु शर्माको “हमार रामलिला” उत्कृष्ट फिचर वृत्तचित्र र बार्तोज जार्जिकीको “फियर/स्टार्च” उत्कृष्ट एनिमेसन अवार्डबाट सम्मानित भए ।
विद्यार्थी प्यानोरामा “च्वाइसस् अफ टुमोरो” अन्तर्गत काथ्रिन एलिस कोभालेन्कोको “बिल्ट अन होप” उत्कृष्ट वृत्तचित्र तथा डानिलो स्तानिमिरोभिचको “क्याट्स” उत्कृष्ट कथानक चलचित्र घोषित भए ।
क्षेत्रीय प्यानोरमामा विप्लव विश्वासको “सकार बकार (रिभर रेड)” उत्कृष्ट लघु फिल्म बन्यो भने नेपाली प्यानोरमामा निर्मल पौडेलको “नीलो आकाश” उत्कृष्ट लघु कथानक र सृजनराज पाण्डेको “मित्क्पा” उत्कृष्ट वृत्तचित्र घोषित भए ।
महोत्सव संयोजक कुमार भास्करले जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले विदेशी फिल्मकर्मीलाई जनकपुरमा छायांकन गर्न निम्तो दिँदै त्यहाँको मौलिकता र धार्मिक महत्वलाई विश्व बजारमा पुर्याउन आग्रह गरे ।
भास्करले नेपाली फिल्म निर्मातालाई पनि ऐतिहासिक स्थल र सांस्कृतिक सम्पदामा आधारित कथावस्तुमा फिल्म निर्माण गर्न आह्वान गर्दै सिनेमा नयाँ पुस्तालाई इतिहाससँग जोड्ने प्रभावकारी माध्यम भएको बताए ।
उनले संघ, प्रदेश र स्थानीय तहका सरकारले जनकपुरमा चलचित्र पर्यटन प्रवद्र्धनका लागि आवश्यक लगानी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । महोत्सव अवधिभर चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा चलचित्र पर्यटनसम्बन्धी छलफल सत्र सञ्चालन गरिएको थियो ।

