भ्रामक सूचनाबाट सचेत रहन आयोगको आग्रह, तयारी पूरा


 निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्य द्रुत गतिमा अघि बढाउने योजना बनाएको छ। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम आउन समय नलाग्ने जानकारी दिनुभयो।

उहाँका अनुसार, समानुपातिक मत परिणाममा एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्रै घोषणा गरिने आयोगको तयारी छ।

भण्डारीले मतपत्र उपत्यका बाहिर पठाउने काम सकिएको र काठमाडौँ, ललितपुर तथा भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म पुर्‍याइसक्ने गरी काम भइरहेको जानकारी दिनुभयो। साथै, मतदान अधिकृतहरुको तालिम मंगलबार साँझसम्म सम्पन्न हुनेछ र त्यसपछि आवश्यक सामग्री लिएर सम्बन्धित मतदान केन्द्रमा खटिने व्यवस्था भइरहेको बताउनुभयो।

निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको र आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो। मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिएको पनि उहाँले बताउनुभयो।

उहाँले हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोगले निर्णय गर्न बाँकी रहेको स्पष्ट पार्दै भन्नुभयो कि भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुन आयोग तयार छ। “यदि आवश्यक पर्‍यो भने हामी मतदाताहरू जहाँ हुनुहुन्छ त्यहीं गएर मत सङ्कलन गर्ने निर्णय गर्नेछौं,” उहाँले भन्नुभयो।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आह्वान गर्नुभयो। साथै, राजनीतिक दलहरूलाई निषेधको राजनीतिमा लाग्न नहुने चेतावनी दिनुभयो। “स्वच्छ प्रतिष्पर्धाबाट मात्र निष्ठावान नेतृत्व चयन हुन्छ,” उहाँले भन्नुभयो।

उहाँले मतदातालाई सामाजिक सञ्जालमा आउने असत्य समाचारको पछि नलाग्न र तत्काल हटाउन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने कार्यतालिका तय भइसकेको छ।


प्रकाशित मिति : २०८२ फाल्गुन १२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार