गुणकेश मोतीको चार विकेट, जिम्बाबेमाथि वेस्ट इन्डिजको फराकिलो जीत


वेस्ट यीन्डजले आइसिसी टी–२० विश्वकपको सुपर आठमा जिम्बाबेमाथि फराकिलो जित निकालेको छ ।

मुम्बईस्थित वनखेडे मैदानमा सोमबार राति भएको खेलमा वेस्ट इन्डिजले जिम्बाबेलाई एक सय सात रनले हरायो । यस जितले समूहमा साविक विजेता भारतलाई गाह्रो पर्ने देखिएको छ ।

यस जितसँगै दुई अङ्क बनाएको वेस्ट इन्डिज नेट रनरेटका आधारमा शीर्षस्थानमा छ । समान दुई अङ्क बनाएको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकासँग पराजित भएको भारत र जिम्बाबे अङ्कबिहीन छ । अब भारतले दोस्रो खेलमा जिम्बाब्वेसँग खेल्नेछ ।

जितका लागि वेस्ट इन्डिजले दिएको दुई सय ५५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बाबे १७.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रनमा समेटिएको थियो ।

जिम्बाबेका लागि ब्राड इभान्सले सर्वाधिक ४३ रन बनाउनुभयो । यस्तै डियोन मेयर्सले २८, कप्तान सिकन्दर राजाले २७ र टोनी मुयोङ्गाले १४ रन बनाउनुभयो । बलिङमा वेस्ट इन्डिजनका गुणकेश मोतीले चार तथा म्याथ्यु फोर्डले तीन विकेट लिनुभयो ।

यसअघि हस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ५४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शिमरन हिटमायर र रोभमन पावलले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।हिटमायरले ८५ र पावलले ५९ रन बनाउनुभयो ।

यस्तै रोमारियो शेफर्डले २१, कप्तान साई होपले १४ र जेसन होल्डरले १३ रन बनाउनुभयो । बलिङमा जिम्बाबेका रिचार्ड नगर्भा र ब्लेसिङ मुजबानीले दुई दुई तथा ब्राड इभान्सले एक विकेट लिनुभयो ।


प्रकाशित मिति : २०८२ फाल्गुन १२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार