बार्सिलोना ले आइतवार लेभान्तेलाई ३–० ले हराउँदै पुनः ला लिगा को शीर्ष स्थान उक्लिएको छ।क्याम्प नोउ मा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्यो।
खेलको चौथो मिनेटमै मार्क बेर्नाल ले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३२ औं मिनेटमा फ्रेन्की डे योङले अर्को गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनायो।
त्यसअघि लेभान्तेका कार्लोस अल्भारेजको प्रहार बार्सिलोनाका गोलरक्षक जोआन गार्सियाले बचाए भने जुल्स कुन्डेले अवसर खेर फाले।
दोस्रो हाफमा बार्सिलोना थप गोलको खोजीमा आक्रामक देखियो। रोबर्ट लेवान्डोस्की र डानी ओल्मोका प्रहार लेभान्तेका गोलरक्षक म्याथ्यु रायनले बचाए। लेभान्तेका पाको कोर्टेसले पनि अवसर पाए तर गोल गर्न सकेनन्।
खेल सकिन नौ मिनेट बाँकी हुँदा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे। उनले लामिन यामालको पासमा गोल गरेका हुन्।




