ललितपुर । आगामी निर्वाचनको सरगर्मीसँगै ललितपुर निर्वाचन क्षेत्र नं २ मा एक बौद्धिक र जुझारू युवाको चर्चा चुलिएको छ। “युवाको राजनीतिमा हस्तक्षेपकारी भूमिका हुनै पर्दछ” भन्ने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएका रमेश आचार्य यस क्षेत्रका लागि एक आशालाग्दा उम्मेदवार बनेका छन्।
खोटाङको दिक्तेलमा जन्मिएर सुनसरीको बराहक्षेत्र (वडा नं ७) मा बाल्यकाल र विद्यालय तहको शिक्षा पुरा गरेका आचार्य हाल ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुका स्थायी बासिन्दा हुन्। विगत एक दशकदेखि ललितपुर क्षेत्र नं २ का विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध भई उनले आफूलाई एक निष्ठावान् समाजसेवका रूपमा स्थापित गरिसकेका छन्।
बौद्धिक व्यक्तित्व र शैक्षिक पृष्ठभूमि
रमेश आचार्य केवल एक राजनीतिज्ञ मात्र नभई एक स्थापित प्राज्ञिक व्यक्तित्व पनि हुन्। त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका आचार्यले भारतको अन्नामलाई विश्वविद्यालयबाट ‘भ्यालु एजुकेशन एण्ड स्पिरिचुअलिटी’ मा मेरिट लिस्टसहित एम.एससी (M.Sc) हासिल गरेका छन्। हाल उनी अर्थशास्त्र विषयमा एम.फिल–पि.एचडी (M.Phil-PhD) स्कलर का रूपमा अनुसन्धानरत छन्।
उनले ललितपुर क्षेत्र नं २ का विभिन्न शैक्षिक संस्थाहरूमा उपप्राध्यापक (Assistant Professor) को रूपमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई अध्यापन र प्रशिक्षित गराउँदै आएका छन्।
प्रशासनिक र सञ्चार अनुभव
शिक्षा र समाजसेवाबाहेक आचार्यको सञ्चार क्षेत्रमा पनि विशिष्ट पहिचान छ। उनी नेपाली सञ्चार क्षेत्रको अग्रणी संस्था जनता प्रसारण तथा प्रकाशन लिमिटेड (जनता टेलिभिजन, रेडियो जनता, जनता समाचार) को प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा ३ वर्षदेखि प्रशासनिक नेतृत्व सम्हाल्दै आएका छन्। जनता टेलिभिजनको चर्चित कार्यक्रम “द इकोनोमिक शो” (The Economic Show) को प्रस्तोता तथा अनुसन्धानकर्ताका रूपमा उनले देशको अर्थतन्त्रलाई नजिकबाट केलाउँदै आएका छन्।
एजेन्डा: ‘Gen-Z’ को आवाज र समृद्धिको खाका
आचार्यका अनुसार उनको उम्मेदवारी २०८२ भदौ २३ र २४ गते भएको ‘Gen-Z’ (जेन–जी) आन्दोलनको भावना र युवा नेतृत्वको मागलाई सार्थक तुल्याउनका लागि हो। अर्थशास्त्रलाई राजनीतिसँग जोडेर देश विकासको दीर्घकालीन नीति निर्माण गर्ने उनको मुख्य लक्ष्य रहेको छ।
ललितपुर क्षेत्र नं २ का लागि आचार्यको ‘६ खम्बे भिजन’
आचार्यले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि स्पष्ट र व्यावहारिक ६ बुँदे योजना अघि सारेका छन्:
-
ट्याङ्कर मुक्त ललितपुर: लाँकुरी भञ्ज्याङ लगायतका पानीका मुहान व्यवस्थित गर्ने, मेलम्ची र गोदावरी खानेपानीसँग समन्वय गर्ने र रोशी खोलालाई सुरुङ मार्गमार्फत ललितपुर ल्याउन सम्भाव्यता अध्ययन गर्ने।
-
प्राकृतिक ग्याँस उत्खनन: यस क्षेत्रमा उपलब्ध प्राकृतिक ग्याँसको सम्भाव्यता अध्ययन गरी प्रशोधन र उत्पादनका लागि पहल गर्ने।
-
जेष्ठ नागरिक अस्पताल: जेष्ठ नागरिकहरूको निःशुल्क उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल स्थापना गर्ने।
-
निःशुल्क शिशु विद्यालय: ५ वर्ष मुनिका बालबालिकाका लागि गुणस्तरीय र निःशुल्क पठनपाठन सुनिश्चित गर्न शिशु विद्यालय सञ्चालन गर्ने।
-
लुभु औद्योगिक करिडोर: सांस्कृतिक पहिचानसहितको लुभु औद्योगिक करिडोरको गुरुयोजना निर्माण गरी कम्तीमा १५,००० युवाका लागि रोजगारी सिर्जना गर्ने।
-
आधुनिक कृषि र बजार ग्यारेन्टी: कौसी खेती र आधुनिक खेतीका लागि प्रविधि हस्तान्तरण गर्ने तथा कृषि उपजको उचित मूल्य र बजार सुनिश्चित गरी महिला तथा युवा स्वरोजगार बढाउने।
लायन्स क्लब इन्टरनेशनल ३२५ एफ को जोन चेयरपर्सन भई सेवा गरिसकेका आचार्यलाई स्थानीय मतदाताले एक ‘ईमानदार, स्वच्छ छवि भएका र विद्वान युवा’ का रूपमा हेरेका छन्।
“म केवल सांसद बन्न होइन, ललितपुर २ को आवाजलाई संसदमा पुर्याउन र जनताको सेवामा समर्पित हुन आएको हुँ,” आचार्य भन्छन्।

