गैँडाकोटमा क्रिकेट एकेडेमी बनाउने रुप्सेको योजना


काठमाडौं (हाम्रो खेलकुद)- रुप्से स्पोर्टस् म्यानेज्मेन्टले नवलपुरको गैँडाकोटमा अत्याधुनिक क्रिकेट एकेडेमी तथा प्रशिक्षण केन्द्र निर्माण गर्ने योजना अघि सारेको छ।

रुप्सेलेले आफ्नै स्वामित्वमा रहेको करिब २ बिघा क्षेत्रफलको जग्गामा आधुनिक पूर्वाधारसहित क्रिकेट एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको अध्यक्ष रमेश पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै, समग्र परियोजनाअन्तर्गत करिब ५ बिघा क्षेत्रफलमा इन्डोर र आउटडोर दुवै सुविधा सहितको स्पोर्टस् हब निर्माण गर्ने योजना पनि रहेको जानकारी दिएको छ।

एकेडेमीको मुख्य उद्देश्य नेपाली क्रिकेट खेलाडीलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्नुका साथै उनीहरूको क्षमता विकास गर्नु रहेको कम्पनीले जनाएको छ।

एकेडेमी सञ्चालनमा आएपछि युवा खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण, आधुनिक प्रविधि र उत्कृष्ट अभ्यास वातावरण पाउने विश्वास गरिएको छ।

रुप्सेले यो परियोजना नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर अघि बढाउने योजना रहेको उल्लेख गरेको छ। यसका लागि क्यानसँग औपचारिक वार्ता र छलफल गर्ने प्रतिबद्धता पनि रुप्से जनाएको छ।


प्रकाशित मिति : २०८२ फाल्गुन ४, सोमबार गते

धेरै पढिएको

ताजा समाचार